मोदीको शपथमा भाग लिएर आएका प्रधानमन्त्री प्रचण्डले भने' अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुति निकै शक्तिशाली'

मोदीको शपथमा भाग लिएर आएका प्रधानमन्त्री प्रचण्डले भने' अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुति निकै शक्तिशाली'

काठमाडौँ : पार्टी नेतृत्व चयनमा लोकतान्त्रिक विधि भन्दा मनोनयनलाई प्राथमिकता दिँदै आएका प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा आगामी दिनमा प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी छानिने दाबी गरे।

शुक्रवार अनेरास्ववियू (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागु गर्ने दाबी गरे।

'विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ,' प्रचण्डले भने, “मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ।'

एमालेसँग एकता गरेर तीव्र आन्तरिक विवादपछि पुरानै पार्टीमा फर्किन बाध्य भएका प्रचण्डले नेपालका कम्युनिस्टलाई एकताबद्ध गरेर एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने बताएका थिए।

'पार्टीको जनमत बढ्दैछ। बलियो हुँदै गएको छ,' प्रचण्डले भने, 'हामी एकताबद्ध हुँदा धेरै कुरा जित्न सकिन्छ। त्यसैले उच्च मनोबलका साथ जनतासँग एकाकार भएर काम गर्नु हाम्रो जिम्मेवारी हो।'

उनले पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रस्तुति निकै शक्तिशाली भएको दाबी गरे। तर कुन विषयमा कुन मञ्चमा भन्ने खुलाएनन्। प्रधानमन्त्रीको रूपमा उनी हालै गएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोह मात्र हो।

तर शुक्रकार उनले आफ्नो पार्टी निकट विध्यार्थीहरुमाथ अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालले विश्वलाई शक्तिशाली सन्देश दिएको दाबी गरे।

'कतिलाई लाग्छ,माओवादीले आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँछ! तर यथार्थ त्यस्तो हुँदैन, हेर्दै जानुहोला माओवादी नै निर्णायक हुन्छ। हामी नै राजनीतिको केन्द्रमा रहन्छौँ' उनले भने।

जेठ ३२, २०८१ शुक्रबार १८:५४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।