काठमाडौँ महानगरको वर्ष दिनको उपलब्धि : ३३ रोपनी अतिक्रमित सार्वजनिक जग्गा महानगर मातहत

काठमाडौँ महानगरको वर्ष दिनको उपलब्धि : ३३ रोपनी अतिक्रमित सार्वजनिक जग्गा महानगर मातहत

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले एक वर्षको अवधिमा अतिक्रमणमा परेको  ३३ रोपनीभन्दा बढी सार्वजनिक जग्गा महानगरपालिका मातहतमा ल्याएको जनाएको छ।

शुक्रवार  नगर सभाको १५ औँ अधिवेशनमा काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गदर्शन र बजेटको कार्यान्वयनबाट प्राप्त उपलब्धिहरू सार्वजनिक गर्दै  महानगरभित्र अतिक्रमणमा गरी बनाइएको तीन सय ५१ वटा संरचना हटाएर सर्वसाधारणको प्रयोगको लागि पार्क निर्माण भइरहेको जनाएको हो।

काठमाडौँ महानगरपालिकाले एक लाख ८० हजार आठ सय ७६ स्क्वायर फिट कालोपत्रे सडकमा भएको पार्किङ गरिएको स्थानमा खाली गरिएको जनाएको छ।

सडक अतिक्रमण गरेका, अव्यवस्थित र मापदण्ड विपरीत सञ्चालनमा रहेका २ सय ६० वटा वर्कसप हटाइएको समेत महानगरले जनाएको छ।

त्यस्तै, विना इजाजत साथै मापदण्ड विपरीत राखिएका २० हजार चार सय चार वटा सूचना बोर्ड हटाइ सहरी सौन्दर्यता कायम गरिएको महानगरले जनाएको छ।

अनधिकृत पार्किङ गरिएका १५ हजार सात सय ७१ वटा सवारीको  व्यवस्थापन तथा नियन्त्रण र कारबाही गरिएको जनाउँदै महानगरले १५ करोड ७७ लाख ७५ हजार रुपैयाँ राजस्व प्राप्त भएको जनाएको छ।

जेठ ३२, २०८१ शुक्रबार १७:२३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।