सांसदको गुनासो : संसद्मा जे बोले पनि हुन्छ भन्ने भयो, मर्यादा गुम्दै गयो

सांसदको गुनासो : संसद्मा जे बोले पनि हुन्छ भन्ने भयो, मर्यादा गुम्दै गयो

काठमाडौँ : पछिल्लो समय संसद्मा हुने बहस बहकिँदै बलात्कार आरोपीको प्रोत्साहन र लैङ्गिक अझ स्त्रिद्वेशी बन्दै गएको छ।

संसद् बाहिर त सांसदहरू बेलगाम छन्। त्यसका उदाहरण हुन् ज्ञानेन्द्र शाही जो बलात्कार अभियोगमा उच्च अदालतबाट सफाइ पाए पनि मुद्दा प्रक्रियाको शङ्कास्पद गतिविधिले आलोचनाको केन्द्रमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा खुल्दा शब्दमा ध्यान दिँदैनन्। उनका अधिकांश अभिव्यक्ति बलात्कारमैत्री सुनिन्छ।

यस्ता सांसद अन्य पनि छन् जो सदनमा आफूलाई चित्त नबुझेको विषयमा बोल्ने सांसद संसद्मै मदिरा पिएर आएकोसम्मका आरोप लगाउँदै अन्तर्राष्ट्रिय मिडियाले यौन दुर्व्यवहारमा प्रमाणसहित समाचार प्रकाशित गरेका नेपाली मूलका विदेशी पर्वतारोहीलाई नेपालको गौरव भएको संसद्मै घोषणा गर्छन्।

उपसभामुख आफैँ सदनमा हुने बहसलाई तुक्का सुनाउनुस् सम्म भन्छिन्। संसद्मा बढ्दै गएको यस्तै गतिविधि देखेर होला सदनको मर्यादाबारे संसदहरुले संसद्मै चिन्ता व्यक्त गर्नुपर्ने अवस्था आएको छ।

सभामुख देवराज घिमिरेले सांसदहरूले प्रतिनिधि सभामा उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले सदनमा मर्यादित रूपमा जिम्मेवारी निर्वाह गर्न सांसदहरूलाई रुलिङ नै गर्नुपर्ने अवस्था समेत आएको छ।

शुक्रवारको बैठकमा अशोक कुमार चौधरी, ईश्वरी घर्ती र जुली कुमारी महतोले  सदनभित्र सांसदले बोलेको भाषा शैलीप्रति आपत्ति नै जनाए।

‘जेठ ३० गतेको बैठकमा एक पुरुष सांसदले जवरर्जस्ती करणीको घटनालाई प्रश्रय दिने गरी मैले बोलेका कुराले सडकमा आन्दोलन नै भए पनि आफूलाई फरक नपर्ने भन्ने किसिमको शैलीमा जसरी महिलामाथि दोष लगाउने गरी असभ्य र असंसदीय जुन अभिव्यक्ति दिनुभयो, त्यसमा मेरो गम्भीर आपत्ति छ। उहाँले जसरी बोल्नुभएको छ, यही सदनबाट माफी माग्नुपर्छ’ सांसद ईश्वरी घर्तीले शून्य समयमा भनिन्।

घर्तीले संसद्मा जे बोले पनि हुन्छ भन्ने सांसदहरूमा पर्न थालेको भन्दै संसद् सचिवालयको समेत ध्यानाकर्षण गराएकी थिइन्।

उनले भनिन्, ‘संसद्मा पछिल्लो समय सांसदले जे बोले पनि हुन्छ भन्नेगरी सदनको दुरुपयोग गरिँदै आएको छ। त्यसमा सिङ्गो संसद् र संसद् सचिवालय गम्भीर बनोस्।’

सांसद जुली कुमारी महतोले संसद् भित्र र बाहिर समेत सांसदहरूले संसदीय कानुन र कार्यविधि भुलेर बोल्न नहुने बताइन्।

सांसद अशोक कुमार चौधरीले सांसदले सदनभित्र महिला सांसदप्रति गरेको विभेदपूर्ण टिप्पणीले संसद्को गरिमालाई घटाएको बताएका थिए।

उनले कानुन बनाउने थलोमा नै कानुनको खिल्ली उडेको प्रति सभामुखको ध्यानाकर्षण गराए।

‘बजेटको छलफल चलिरहँदा एक साताभित्र दुई जना सांसदहरूले महिला वर्गप्रति रोस्ट्रममा उभिएर द्वेषपूर्ण आक्षेप लगाउनुभयो। एकजनाले त रामायणको प्रसङ्ग उठाएर राज्यले अपराधीकरण गरेको वैवाहिक बलात्कारप्रति टिप्पणी गर्दै महिलालाई इच्क्षापूर्तिको साधनको रूपमा चित्रण गर्नुभयो। उहाँको यस्तो टिप्पणीले कसको गरिमा घटायो ?’ उनले थप भने, ‘अर्का सांसदले महिला मन्त्री भन्दा पुरुष मन्त्री भएको भए यस्तो हुँदैन थियो भनेर अमर्यादित र अशोभनीय टिप्पणी गर्नुभयो। यो विधि बनाउने थलो हो कि विधि बिगार्ने थलो?’ सांसद चौधरीले सभामुखसँग प्रश्न गरे।

संसद्मा मन्त्री नै गायब

सदनमा जारी विनियोजन विधेयक माथिको विभिन्न शीर्षकमा भइरहेको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित नभएपछि सांसदहरू रोष्टममा गएर मन्त्री खोज्दै उभिन थालेका छन्।

यस अगाडि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्री वर्षमान पुन सदनमा उपस्थित नभई नबोल्ने भन्दा उप सभामुख इन्दिरा रानाले तुक्का सुनाउँदै गर्नुस् भनेर ब्यङग्य गरेकी थिइन्।

शुक्रवारको बैठकमा स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्तावको छलफलमा सदनमा मन्त्री नदेखेपछि छलफललाई रोकेका थिए।

उनले मन्त्री नआएसम्म मन्त्रालयगत छलफलको औचित्य नहुने तर्क गर्दै एक मिनेट बढी समय रोस्ट्रममा मन्त्रीको खोजीमै बिताए।

त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखसँग समय लिएर सदनमा उत्पन्न परिस्थितिको निकास खोज्नुपर्नेमा जोड दिएका थिए।

‘५–६ घण्टा हामी छलफल गर्छौँ। मन्त्रीहरूलाई पनि लगातार ६ घण्टासम्म यहाँ बस्न गाह्रो भएको छ। कि त नियम नै संशोधन गर्नुपर्यो। वक्ता माननीयलाई रोस्ट्रममा अड्याएर राख्नु फेरी बेठिक हो,’ उनले थपे, ‘कि त छलफलमा मन्त्रीहरूलाई आलोपालो गरेर बस्न लगाउनुपर्यो। मन्त्री सदनमा अनुपस्थित हुने अनि वक्ता माननीयले सजाय पाउनुपर्ने यो समस्यालाई सुधार गरियोस्।’

त्यसपछि सभामुख घिमिरेले संसद्मा देखिएको उक्त समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।

‘यो परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको छ। यसलाई व्यवस्थित गर्न माननीय सदस्यहरू सबैले आफ्नो ठाउँबाट उपयुक्त ढङ्गको ध्यान केन्द्रित गर्नको लागि म विशेष निर्देश गर्दछु’ उनले भने।

उनले सदनमा समयको महत्त्व सांसद र मन्त्रीहरूले बुझ्नुपर्नेमा जोड दिँदै बैठकमा उपस्थित मन्त्री, वक्ता, पछि बोल्ने वक्ता र श्रोतालाई समेत त्यस्तो परिस्थिति आउन नदिने गरी सचेत गराउँदै सहयोग गर्न आग्रह गरेका थिए।

बिहीबारको बैठकमा पनि सांसद सिंहले छलफलमा मन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै आधा मिनेट बढी रोस्टममा उभिएरै विरोध गरेका थिए।

राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको आलोचना

शुक्रवार संसदीय मर्यादा कायम नगरेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्मको आलोचना भयो।

भर्खरै (जेठ २७) मात्र भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले संसदीय मर्यादाको पालना गरेर सदनमा आफ्नो भ्रमणबारे जानकारी गराउने आफ्नो दायित्व पूरा नगरेको भन्दै आलोचना भयो।

यस्तै, अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२औँ अधिवेशनमा भाग लिन मङ्गलवार (२९ गते) स्वीट्जरल्यान्डको जेनेभामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्नो विदेश भ्रमणबारे सदनलाई जानकारी नगराएकोमा प्रश्न उठेको थियो।

शुक्रवारको बैठकमा प्रतिपक्षी दल कांग्रेसले सदनभित्र न्यूनतम गरिमा र मर्यादा समेत सरकारले नदेखाएको भन्दै त्यसप्रति खेद जनाएको थियो।

‘राष्ट्र प्रमुख देश बाहिर जानुहुन्छ, कार्यकारी प्रमुख प्रधानमन्त्री देश बाहिर जानुहुन्छ, तर यो गरिमामय सदनले राष्ट्रपति र प्रधानमन्त्री देश बाहिर जानुभएको कुरा अखबार पढेर थाहा पाउनुपर्ने अवस्था छ,’ कांग्रेसका मुख्य सचेतक रमेश लेखकले भने'सरकारका कारणले संसद्को न्यूनतम गरिमा र न्यूनतम मर्यादा पनि पालना गर्ने काम भएन।'

जेठ ३२, २०८१ शुक्रबार १७:१०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।