‘कि टिकटक बन्द गरेपछि घटेको अपराधको तथ्याङ्क देखाउ कि प्रतिबन्ध हटाउ’

‘कि टिकटक बन्द  गरेपछि घटेको अपराधको तथ्याङ्क देखाउ कि प्रतिबन्ध हटाउ’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् असीम शाहले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहले अपराध र विकृति फैलिएको भन्दै सरकारले टिकटक बन्द गरे पनि त्यसबाट कति अपराध र विकृति घटेर भनेर तथ्याङ्क पेश गर्न नसकेको भन्दै प्रतिबन्ध हटाउन माग गरेका हुन्।

उनले भने, ‘टिकटकको विकल्पमा फेसबुक र इन्टाग्रामको रिल्स, युट्युब सर्ट्स मजाले चलेकै छ। यस्तो सरकारले अपराध र विकृति फैलिएको भन्दै टिकटकमा लगाएको प्रतिबन्धको औचित्य के भयो त? सरकारले टिकटकमा बन्द भएपछि विकृति वा अपराध घटेको तथ्याङ्क वा प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन।’

टिकटकमाथि प्रतिबन्ध लगाउँदा ब्यान्डविथ घटेर डेटा बिक्रीबापत हुने तीन अर्बको आम्दानी घटेको उनको भनाइ छ।

उनले थपे, ‘टिकटक बन्द भएपछि ब्यान्डविथ घटेर डेटा बिक्रीबाट हुने आम्दानी एनसेलको एक अर्ब ४४ करोड र नेपाल टेलिकमको डेढ अर्ब रुपैयाँ घाटा भएको देखाएको छ। टिकटकबाट सानो व्यापारीले गरिरहेको घरेलु व्यवसाय र स्वतन्त्र व्यवसायीहरू बेरोजगार र विस्थापित भएकाहरुको हिसाबकिताब गरिसाध्य छैन।’

अरु पनि सूचिकृत नभएको फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल विना रोकटोक चलिरहेको अवस्थामा टिकटकबाट मात्र विकृति र अपराध फैलिएको सरकारको तर्क हाँस्यास्पद भएको उनले बताए।

सरकारले कात्तिक २७ गतेबाट टिकटकमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध नहुँदा नेपालबाट ९० लाखले टिकटक चलाइरहेकोमा प्रतिबन्धपछि भीपीएन प्रयोग गरेर अहिले पनि ५० लाख हाराहारीमा टिकट चलाइरहेको सांसद शाहले बताए।

जेठ ३२, २०८१ शुक्रबार ११:५८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।