प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपचि रामचन्द्र पौडेलको विदेश भ्रमणबारे सदनलाई जानकारी दिन माग गरेको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देशको सरकार प्रमुख विदेश भ्रमणमा जाँदा संसदलाई जानकारी गराउने संसदीय परम्परा रहेको भन्दै त्यसबारे जानकारी गराउन प्रधानमन्त्री दाहाललाई स्मरण गराए।

सरकारको कारणले संसदको न्यूनतम गरिमा र मर्यादाक काम नगर्नु खेदजनक रहेको उनको भनाइ छ। राष्ट्रप्रमुख र सरकार प्रमुख देशबाहिर गएको कुरा सांसद्हरूले अखबार पढेर थाहा पाउनुलाई दुर्भाग्यपूर्ण भनेका छन्।

‘प्रधानमन्त्री भारतबाट फर्किएको पाँच दिनसम्म पनि सदनमा आएर भ्रमणबारे जानकारी गराउनुभएन, मैले उहाँलाई स्मरण गराउनुपर्ने भयो,’ उनले भने, ‘देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदै गर्दा यो सदन अनविज्ञ रहनुपर्ने, जानकारी नपाउनुपर्ने, पत्रिका पढेर थाहा पाउनुपर्ने विषय सरकारका लागि दुर्भाग्यपूर्ण छ।’

नेता लेखकले आगामी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणका बारेमा सदनलाई जानकारी गराउन रुलिङ गर्नसमेत माग गरेका छन्।

जेठ ३२, २०८१ शुक्रबार ११:२५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।