लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा डा. तिलकराम आचार्य नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा डा. तिलकराम आचार्य नियुक्त

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सहप्राध्यापक डा. तिलकराम आचार्य नियुक्त भएका छन्। विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिष्पर्धा गराएको थियो।

खुला प्रतिष्पर्धा गर्दा पहिलो नम्बरमा रहेका आचार्यलाई उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेका थिए।

प्रधानमन्त्री दाहालले आचार्यलाई शुक्रबार विहान नियुक्तिपत्र प्रदान गरे। प्रधानमन्त्री दाहालले बुधबार रजिष्ट्रार नियुक्तिको निर्णय गरेको बताइएको छ।

रजिष्ट्रार नियुक्त भएका आचार्यले यसअघि दुई कार्यकाल लुम्बिनी बौद्ध विश्वविद्यालयकै रजिष्ट्रार भई काम सकिसकेका छन्।

तेस्रो कार्यकालका लागि नियुक्त आचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता जनाए।

‘उपकुलपतिज्यूले र मैले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्याउने अठोटसहित केही योजना अगाडि बढाएका छौं, ती योजनाहरु कार्यान्वयन प्राथमिकतामा रहनेछ’, उनले भने।

देवदहमा नयाँ परियोजना शुरू गरिएको भन्दै शैक्षिक कार्यक्रमको विस्तार र भौतिक पूर्वाधारका योजनालाई सँगसँगै लगिने उनले बताए। उनले तेस्रो कार्यकालका लागि आफूलाई विश्वास गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन्।

रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा विश्वविद्यालयले खुला प्रतिष्पर्धा गराएको थियो। प्रतिष्पर्धी ९ जनामध्ये आचार्य पहिलो नम्बरमा रहेका थिए।

रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र विद्वान प्रा.डा. पुष्कर बज्राचार्य सदस्य रहेको समिति बनाइएको थियो।

जेठ ३२, २०८१ शुक्रबार १०:३८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।