स्यान्डी दाइले पाँच महिना क्रिकेट नखेल्दा पनि त्यसले खासै प्रभाव पर्दैन : रोहित पौडेल

स्यान्डी दाइले पाँच महिना क्रिकेट नखेल्दा पनि त्यसले खासै प्रभाव पर्दैन : रोहित पौडेल
फाइल तस्बिर

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सन्दीप लामिछानेले पाँच महिना क्रिकेट नखेले पनि खासै प्रभाव नपर्ने बताएका छन्।

शनिबार विहान हुने दक्षिण अफ्रिकाविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा कप्तान पौडेलले लामिछानेले पाँच महिनादेखि क्रिकेट नखेले पनि उनको अनुभव काफी हुने बताए।

‘स्यान्डी दाइले धेरै क्रिकेट खेल्नुभएको छ। उहाँसँग यति अनुभव छ कि चार/पाँच महिना क्रिकेट नखेल्दा पनि त्यसले खासै प्रभाव पार्दैन। हामीलाई विश्वास छ कि उहाँ टिममा आएर राम्रो गर्नुहुन्छ। विगत १५-२० दिनदेखि अभ्यास पनि गरिरहनुभएको छ। उहाँ एकदमै तयार हुनुहुन्छ।’

बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएका लेग स्पिनर सन्दीप लामिछानेलाई दुई पटक प्रयास गर्दा पनि अमेरिकाले भिसा नदिएपछि उनले विश्वकपको सुरुवाती दुई खेल खेल्न पाएका थिएनन्।

अब नेपालले खेल्ने दुई खेल वेस्ट इन्डिजमा छ। त्यसका लागि सन्दीप केही दिनअघि नै त्यहाँ पुगिसकेका थिए। शनिबार विहान नेपालले दक्षिण अफ्रिकासँग खेल्दैछ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। एक अंक मात्र रहेको नेपालको अझै पनि दोस्रो चरण सुपर आठमा प्रवेश गर्ने सम्भावना कायमै छ।

जेठ ३२, २०८१ शुक्रबार १०:१५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।