पीएनजीलाई सात विकेटले हराउँदै सुपर आठमा पुग्यो अफगानिस्तान

पीएनजीलाई सात विकेटले हराउँदै सुपर आठमा पुग्यो अफगानिस्तान

काठमाडौं : अफगानिस्तान आईसीसी टी२० विश्वकपको दोस्रो चरणमा प्रवेश गर्ने पाँचौं टोली बनेको छ।

समूह ‘सी’मा रहेको अफगानिस्तानले समूह चरणको आफ्नो तेस्रो खेलमा पपुवा न्यूगिनीलाई सात विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो। यो समूहबाट यसअघि नै वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरिसकेको छ।

ट्रिनिडाडको ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको पपुवा न्यूगिनी १९.५ ओभरमा अलआउट हुँदै ९५ रनमा समेटियो।

उसका लागि किपलिन डोरिगाले सर्वाधिक २७ रन बनाउँदा एली नाओले १३ र टोनी उराले ११ रन बनाए। त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानका फजलहक फारुकीले तीन, नवीन उलहकले दुई तथा नूर अहमदले एक विकेट लिए।

९६ रनको जवाफी लक्ष्य पछ्याएको अफगानिस्तानले १५.१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो। उसका लागि गुल्बादिन नैब र मोहम्मद नाबीले अविजित रहँदै क्रमशः ४९ र १६ रनको पारी खेले।

त्यसबाहेक अजमतुल्लाह ओमरजाई १३, रहमनुल्लाह गुरबाज ११ र इब्राहिम जर्दान शून्य रनमा आउट भए।

पपुवा न्यूगिनीका एली नाओ, सीमो कमी र नोरमान भानुवाले समान एक–एक विकेट लिए।

जितसँगै अफगानिस्तानको तीन खेलमा छ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। अफगानिस्तानले समूह चरणको अन्तिम खेल आयोजक वेस्ट इन्डिजसँग खेल्न बाँकी छ।

यसै समूहमा रहेर दुई खेल मात्र खेलेको न्यूजिल्याण्ड भने अंकतालिकाको पुच्छारमा छ। समूहबाट सुपर आठमा पुग्ने दुई टोलीको टुंगो लागेसँगै न्यूजिल्याण्डका लागि बाँकी दुई खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। 

जेठ ३२, २०८१ शुक्रबार ०९:५६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।