बंगलादेशले नेदरल्यान्ड्सलाई हराएपछि नेपाल सुपर आठमा पुग्ने सम्भावना कति?

बंगलादेशले नेदरल्यान्ड्सलाई हराएपछि नेपाल सुपर आठमा पुग्ने सम्भावना कति?

काठमाडौं : आईसीसी टी-२० विश्वकपमा चार वटा समूहबाट पाँच टोलीले सुपर आठमा स्थान बनाइसकेका छन्।

हालसम्म समूह ‘ए’ बाट भारत, समूह ‘बी’ बाट अस्ट्रेलिया, समूह ‘सी’ बाट वेस्ट इन्डिज र अफगानिस्तान तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिकाले सुपर आठको यात्रा तय गर्दा थप तीन टिमको टुङ्गो अझै लागेको छैन। बाँकी टिम तीन स्थानका लागि प्रतिस्पर्धामा छन्।

अहिलेसम्म समूह ‘डी’बाट नेपाल सुपर आठमा पुग्ने सम्भावना कायमै छ। पहिलो खेलमा पराजित र दोस्रो खेल खेल्न नपाएकाले यात्रा केही कठिन भए पनि असम्भव भने छैन।

यदि नेपालले आफ्नो दोस्रो खेलमा श्रीलङ्कालाई पराजित गरेको भए उसको २ अङ्क हुने थियो र सुपर ८ मा पुग्ने सम्भावना थप बलियो हुने थियो। तर, वर्षाका कारण श्रीलंकासँग अंक बाँडेपछि समूह ‘डी’ गणितीय समीकरण रोचक देखिएको छ।

ग्रुप अफ डेथ मानिएको समूह ‘डी’ को अङ्क तालिका हेर्ने हो भने दक्षिण अफ्रिका बाहेक सबै टिमको अवस्था कमजोर नै छ। हालसम्म ३ खेल खेलेको दक्षिण अफ्रिकाले ३ वटै खेलमा जित निकाल्दै ६ अङ्कका साथ सुपर आठमा स्थान बनाइसकेको छ।

त्यसबाहेक तीन खेल खेलेको बंगलादेशले चार अंक जोडेर समूहको दोस्रो स्थानमा छ भने नेदरल्यान्ड्स तीनमध्ये एकमा जितसहित दुई अंकसहित तेस्रो स्थानमा छ।

नेपाल दुई खेलमध्ये एकमा हार र एकमा अङ्क बाँडेर समूहको चौथो स्थानमा छ भने श्रीलङ्काले ३ खेलमा एउटा पनि जित ननिकाली एक अंकसहित समूहको पुच्छारमा छ।

नेदरल्यान्ड्स बंगलादेशसँग पराजित भएपछि अब नेपालले दक्षिण अफ्रिका र बंगलादेशबीच हुने दुवै खेलमा जित निकाल्नैपर्ने हुन्छ। त्यसो भएमा नेपाल ५ अङ्कसहित सुपर ८ मा पुग्न सक्छ। तर, यो त्यति सहज हुने छैन।

नेपाल र बाङ्ग्लादेश टी२० खेलमा एकचोटि भिडेका छन्। उक्त खेलमा बाङ्ग्लादेश विजयी भएको थियो। जारी विश्वकपमा निकै राम्रो खेलिरहेको दक्षिण अफ्रिकासँग नेपालले एक पटक पनि खेलेको छैन।

अब समूहबाट दुई खेल खेल्न बाँकी टोली नेपाल मात्रै छ। श्रीलंका समूह चरणबाट बाहिरिइसकेको छ भने बंगलादेश र नेदरल्यान्ड्सको सम्भावना कायमै छ।

बंगलादेशका लागि सुपर आठमा पुग्न नेपालसँगको जित वा अंक बाँडिए पनि पर्याप्त हुन्छ। तर, नेदरल्यान्ड्सका लागि भने यो बाटो कठिन देखिन्छ। त्यसका लागि श्रीलंकालाई ठूलो अन्तरले हराएर मात्र पुग्दैन नेपाल र बंगलादेशको खेलको नतिजा पनि पर्खनुपर्ने हुन्छ।

जेठ ३२, २०८१ शुक्रबार ०९:३५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।