सबैले राम्रो क्रिकेट खेले दक्षिण अफ्रिकालाई पराजित गर्न सक्छौँ : रोहित पौडेल

सबैले राम्रो क्रिकेट खेले दक्षिण अफ्रिकालाई पराजित गर्न सक्छौँ : रोहित पौडेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सबै जनाले राम्रो क्रिकेट खेल दक्षिण अफ्रिकालाई पराजित गर्नसक्ने बताएका छन्।

शनिबार विहान हुने दक्षिण अफ्रिकाविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा कप्तान पौडेलले टेस्ट मान्यताप्राप्त राष्ट्रलाई पराजित गर्नका लागि एक वा दुई जनाको मात्रै योगदानले सम्भव नभएको बताए।

‘सबै जनाले योगदान दिनु आवश्यक छ। टेस्ट मान्यताप्राप्त राष्ट्रलाई पराजित गर्नका लागि एक वा दुई जनाको मात्रै योगदानले सम्भव छैन,’ उनले भने, ‘स्किल लेभलमा उहाँहरू अलिकति माथी भए पनि हामीले आफ्नो बेस्ट क्रिकेट खेल्यौं भने पराजित गर्न सक्छौँ।’

दक्षिण अफ्रिकासँग खेल्न पाउनु आफूहरुका लागि ठूलो अवसर भएको बताउँदै उनले दुई खेल जितेर सुपर आठमा पुग्ने टिमको मेन्टालिटी रहेको बताए।

मौसमका कारण सबै टिमले राम्रोसँग तयारी गर्न नपाएको भन्दै उनले त्यसलाई कारण बनाएर नराम्रो खेल्ने छुट कसैलाई पनि नभएको बताए। पछिल्लो दुई/तीन दिनदेखि नेपाली टोलीले अभ्यास गर्न पाएको छैन।

फरक प्रसङ्गमा उनले क्रिकेटर सन्दीप लामिछानेले पाँच महिनादेखि क्रिकेट नखेले पनि उनको अनुभव काफी हुने तर्क गरे।

‘सन्दीप दाइले धेरै क्रिकेट खेल्नुभएको छ। उहाँसँग यति अनुभव छ कि चार/पाँच महिना क्रिकेट नखेल्दा पनि त्यसले खासै प्रभाव पार्दैन। हामीलाई विश्वास छ कि उहाँ टिममा आएर राम्रो गर्नुहुन्छ। विगत १५-२० दिनदेखि अभ्यास पनि गरिरहनुभएको छ। उहाँ एकदमै तयार हुनुहुन्छ।’

पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। अब नेपालले शनिबार विहान सवा पाँच बजे दक्षिण अफ्रिकासँग र सोमबार विहान सवा पाँच बजे बंगलादेशसँग खेल्दैछ।

जेठ ३२, २०८१ शुक्रबार ०८:४३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।