पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको घर बगायो, बुवा र आमासहित चार जनाको मृत्यु

पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको घर बगायो, बुवा र आमासहित चार जनाको मृत्यु

ताप्लेजुङ : बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको घर बगाएको छ।

मध्यरातमा पहिरोले घर बगाउँदा घरमा सुतिरहेका गाउँपालिका उपाध्यक्षका बुवा रामबहादुर लिम्बू, कान्छीआमा जसमाया लिम्बू, नौ वर्षीया बहिनीहरु गंगा र जमुनाको मृत्यु भएको हो।

गाउँपालिकाको वडा नं. २, खेजेनिममा रहेको सो घरमा गाउँपालिका उपाध्यक्ष विकास साम्रा भने बस्थेनन्। वडाध्यक्ष भुपेन्द्र चौलागाईंले पहिरोमा परेर चार जनाको मृत्यु भएको पुष्टि गरे।

‘पहिरोले उपाध्यक्षज्यूको घर बगाएको छ। बुवाआमा र बहिनीहरूको ज्यान गएको छ,’ उनले भने, ‘ढुंगा माटोको दुई तले घर पूरै बगाएको छ। हामी खोज तथा उद्धारको काम गरिरहेका छौँ।’

वडाध्यक्ष चौलागाईंका अनुसार उपाध्यक्ष लिम्बू भने गाउँकै अर्को घरमा बस्दै आएका थिए। पहिरोले घरमा रहेका करिब ५० वटा बाख्रा र कुखुरा लगायत चौपाया पनि बगाएको छ।

वडाध्यक्ष चौलागाईंका अनुसार बाढीका कारण फक्ताङलुङ गाउँपालिकामा बुधबार पनि दर्जनौँ पुलहरू बगाएको थियो।

जेठ ३२, २०८१ शुक्रबार ०८:१८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।