कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
फाइल तस्बिर

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।

बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मनसुनका कारण कोशी प्रदेशमा बाढी पहिरोले क्षति हुने गरी वर्षा भइरहेको छ भने देशका अन्य क्षेत्रमा उल्लेख्य वर्षा भएको छैन।

शुक्रबार पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, मधेश प्रदेशसहित देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
 

जेठ ३२, २०८१ शुक्रबार ०७:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।