ह्यूम पाइप राख्न बन्दै गरेको नालाको काम गर्ने क्रममा दुई महिला मजदुरको ज्यान गयो

ह्यूम पाइप राख्न बन्दै गरेको नालाको काम गर्ने क्रममा दुई महिला मजदुरको ज्यान गयो

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर दुई मजदुरको मृत्यु भएको छ। 

कावासोती नगरपालिका-२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए। त्यसमध्ये सोही ठाउँकी ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए। 

उनका अनुसार खाल्डोमा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको खोजी भइरहेको छ।

ढल निकासीको लागि ह्यूम पाइप राख्न नाला निर्माणको काम चलिरहेको छ। त्यही काम गर्ने क्रममा उनीहरू माटोको ढिस्को खस्दा पुरिएको प्रहरीले जनाएको छ। 

पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको पौडेलले बताए। 

जेठ ३१, २०८१ बिहीबार २१:३१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।