बीएन्डसीबारे सर्वोच्चको फैसला सच्याउन केसीको दुईहप्ते अल्टिमेटम, माग पूरा नभए अनशन थाल्ने

बीएन्डसीबारे सर्वोच्चको फैसला सच्याउन केसीको दुईहप्ते अल्टिमेटम, माग पूरा नभए अनशन थाल्ने

काठमाडौं : डा. गोविन्द केसीले सातबुँदे माग पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएका छन्। जसमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजबारेको फैसला सच्याउने मागसमेत रहेको छ। 

गत जेठ २४ गते सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको थियो। न्यायाधीशहरू डा. कुमार चुडाल र सारंगा सुवेदीको इजलासले काठमाडौं विश्वविद्यालय काभ्रे र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको थियो। 

०८० चैत १२ मा भएको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले यसै शैक्षिक शत्रदेखि एमबीबीएसको विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने गरी सम्बन्धन दिन आदेश दिएकोपछि केसीको त्यसको आलोचना गरेका हुन्।  

केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनसम्बन्धी जटिल संवैधानिक प्रश्नको विषय सर्वाेच्च अदालतको संवैधानिक इजलासबाट हुनुपर्नेमा दुई सदस्यीय इजलासबाट फैसला हुनु, महिनौंसम्म संक्षिप्त आदेशसमेत नदिनु, फैसलाको मुल आदेश विरोधाभासपूर्ण हुनु, अदालतमा दुवै पक्षबाट प्रस्तुत दलिलहरूमध्ये निवेदकको तर्फबाट प्रस्तुत दलिलहरूलाई जस्ताको तस्तै स्वीकारिनु तर विपक्षबाट प्रस्तुत महत्त्वपूर्ण दलिलहरू फैसलामा राख्दै नराख्नु, आदि त्रुटिहरूले यो फैसलाका क्रममा गम्भीर न्यायिक विचलन भएको देखाउँछन् । फैसलालगत्तै निवेदक पक्षले न्यायाधीशको नामै लिएर प्रशंसा गर्नुले पनि उक्त फैसलामाथि प्रश्न उठाउने ठाउँ दिएको छ।' 

सर्वोच्चको त्यस फैसलामा गम्भीर न्यायिक विचलन देखिएको उनको तर्क छ। 

‘यो फैसलाका क्रममा गम्भीर न्यायिक विचलन भएको देखाउँछन्। फैसलालगत्तै निवेदक पक्षले न्यायाधीशको नामै लिएर प्रशंसा गर्नुले पनि उक्त फैसलामाथि प्रश्न उठाउने ठाउँ दिएको छ’, उनले भनेका छन्।

यसअघि जेठ २४ गते डा. केसीले सरकारलाई एक सातको समय दिइ माग पूरा नभए सत्याग्रह थाल्ने चेतावनी दिएका थिए। अगुवा नागरिकहरूको अनुरोधमा सरकारलाई थप दुई साताको समय दिने निर्णय गरेको उनको भनाइ छ। सो अवधिमा मागहरु पूरा नभएमा सत्याग्रह सुरू गर्ने डा. केसीले चेतावनीसमेत दिएका छन्।    

जेठ ३१, २०८१ बिहीबार २०:१९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।