लोकदोहोरी प्रतिष्ठानलाई ज्योतिले भनिन् : 'श्लील र अश्लीलको परिभाषा गर्ने तिमी प्रधानमन्त्री होइनौ'

लोकदोहोरी प्रतिष्ठानलाई ज्योतिले भनिन् : 'श्लील र अश्लीलको परिभाषा गर्ने तिमी प्रधानमन्त्री होइनौ'

काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोक-दोहोरी गीतका नाममा विकृति बढेको भन्दै केही कलाकारलाई स्पष्टीकरण सोधेपछि गायिका ज्योति मगरले त्यसको खण्डन गरेकी छिन्। 

बिहीबार सामाजिक संजालमार्फत उनले प्रतिष्ठानको उक्त कदमप्रति असन्तुष्टि जनाइन्। उनले अप्रत्यक्ष रूपमा दिएको धम्की र प्रशासनमार्फत कारबाही गराउने चेतावनी दिएको भन्दै प्रतिष्ठानको त्यस्तो धम्की र चेतावनीले केही फरक नपर्ने बताइन्। 

'विकृति न्यूनीकरणको नाममा स्पष्टीकरण माग्छौँ, कारबाही गर्छौं। प्रशासनसम्म पुग्छौँ, कानुनी कारबाहीको माग गर्छौंभन्दै नयाँ पुस्तालाई दिएका अप्रत्यक्ष धम्की र तिमीले गरेको यो लफडा आफूलाई चर्चामा ल्याउने र न्युजमा रहिरहने फण्डाबाहेक केही होइन,' उनले लेखेकी छन्, 'केही लछारपाटो लाग्दैन। गुगल र युट्युबको नियमले नेपाली समाजमा केलाई अश्लील मान्ने र केलाई नमान्ने भन्ने कुरा स्पष्ट पारेको छ। 

उनले गुगलले नितान्त सामाजिक सञ्जालमा अपलोड र प्रसारण गर्ने अनुमति दिएको कसैको सामाग्रीलाई हटाउने आदेश दिने तिमी को हौ भन्दै प्रश्न समेत उठाएकी छन्। 

'...त्यसैले मै जान्ने मै सुन्ने दम्भबाट माथि उठ र बुझ लोक दोहोरी प्रतिष्ठान एउटा संगठन हो, संस्था हो, राज्य होइन। तिमी संस्थाको पदाधिकारी हौ, तिमी प्रधानमन्त्री होइनौं, ओह! सरि प्रधानमन्त्री पनि संविधान र कानूनभन्दा माथि होइनन्,’ उनले लेखेकी छन्।

उनले श्लील र अश्लीलको परिभाषा मनमर्जी बनाउनु नै गलत भएको बताइन्।  

लोकगीत र युट्युब कसैको बिर्ता नभएको भन्दै उनले स्वतन्त्र देशको स्वतन्त्र नागरिकलाई आफ्नो मनखुसी काम गर्न कसैले रोक्न नसक्ने उनको भनाइ छ।  

जेठ ३१, २०८१ बिहीबार १८:४९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।