...त्यसपछि उजिरसिंह माविको ४६ साले एसएलसी ग्रुपको त्यही भेट अन्तिम भयो !

...त्यसपछि उजिरसिंह माविको ४६ साले एसएलसी ग्रुपको त्यही भेट अन्तिम भयो !

बुटवल : बेला बेलामा साथीभाइहरू जमघट हुने र रमाइलो गर्दै आएका स्कुले जीवनका साथीहरू बुधबार पनि भेटघाट गर्ने निधो गरे। त्यसपछि उनीहरू बुटवल उपमहानगरपालिका–१३ बेलबासको बदेलपोखरीस्थित ग्वातो रेष्टुरेन्टमा भेला भए। दिउँसो भेला भएका ३० जना साथीहरू साँझ ६ बजेसम्म बसेर रमाइलो गरे।

साँझ परेपछि रमाइलो गर्न गएकाहरू २५ जना घरतर्फ लागे। बाँकी ५ जना साथीहरू नुवाकोट जाने बाटोकै भ्यूटावरमा जाने भन्दै निस्किए।

बुटवलको उजिरसिंह माध्यमिक विद्यालयबाट ०४६ सालमा एसएलसी दिएका साथीहरूको ग्रुप थियो त्यो। ग्रुपले बेला बेला साथीभाइहरूसँग जमघट गराउँथ्यो। तर, बुधबारको यो जमघटमा रहेका केही पूर्व विद्यार्थीहरूका लागि अन्तिम भेट  बन्यो। 

बुधबार राती साढे ८ बजे बुटवल–१३ नुवाकोटगढी भ्यूटावर नजिकै कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो। २ जना घाइते भए। उनीहरू तिनै थिए, जो दिउँसो ३० जना साथीसँग रमाइलो गरेका थिए। 

पूर्व विद्यार्थीहरूको समूहलाई रामप्रसाद शर्मा (छवि)ले संयोजन गर्थे। बुधबार पनि उनैले संयोजन गरेर भेटघाटको समय जुरेको थियो। अरु साथीहरू घरतर्फ हिँडेपछि छविसहित पाँच जना साथी उनीहरू बसेको रेष्टुरेण्ट माथिको भ्यूटावर  हुँदै पाल्पाको नुवाकोटमा गए। 

तर, साढे ८ बजे छविले चलाएको आफ्नो लु २ च ८५३१ नम्बरको कार दुर्घटनामा पर्यो। दुर्घटनामा छविसहित तिलोत्तमा नगरपालिका–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भयो। दुर्घटनामा परी रश्मी श्रेष्ठ र चन्दा श्रेष्ठ घाइते भए। 

साथीहरूको जमघटमा गएका विमलराज भट्टराई रमाइलो गर्ने क्रममा छविले ‘आउनुस् अन्तिम सेल्फी हो खिचौँ’ भनेर भनेको बताए। छविले भनेजस्तै त्यो तस्वीर अन्तिम भएको उनले बताए।

नुवाकोट जाने बाटो उकालो छ। फर्कँदा धेरै ओरालो हुने भएकाले राम्रोसँग ब्रेक लाग्दैन। बुधबार साँझको दुर्घटना पनि ब्रेक नलागेकै कारण भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। घुम्तीमा आएपछि दायाँ मोड्नुपर्नेमा कार सिधा भीरतर्फ गएको स्थलगत अध्ययनकाक्रममा देखियो।

गाडी सडकबाट ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

मलाई उठाउँ भनेका थिए छविले
दुर्घटनास्थल बदेलपोखरीबाट २ किलोमिटरमा पर्छ। रातीको घटना भएकाले तत्काल उद्दारमा समस्या देखिएको थियो। एक भिडियोमा छविले ‘बाबु मलाई उठाउँ’, गाडि दुर्घटना भएको हो र?’ भन्दै प्रश्न गरेका छन्। भिडियोमा छविलाई खुट्टा भाँचिएको अवस्थामा देख्न सकिन्छ। भिडियो खिच्ने व्यक्तिले ‘स्टेचर विना केही गर्न सकिँदैन। हजुर आराम गर्दै गर्नुस्’ भनेको प्रष्ट सुनिन्छ।

‘उद्दारमा ढिलाई भएको जस्तो लाग्दैन। तर, जति समयमा हुनुपर्थ्यो भएन। एउटा दुःखद घटनाले साथी गुमाउनु पर्यो’ दिउँसो सँगै साथीभाइको जमघटमा सहभागी भएका साथी योग गुरुङले भने।

दुर्घटनामा परि ज्यान गुमाएका बुटवल उपमहानरका–१० का ५६ वर्षीय छवि निजी क्षेत्रका कुशल बजार व्यवस्थापक हुन। लामो समय चाउचाउको व्यवस्थापनमा सक्रिय छवि पछिल्लो केही समययता मसला उद्योगको बजार व्यवस्थापनमा सक्रिय थिए। विभिन्न सामाजिक र व्यवसायीक संस्थाहरूमा सक्रिय उनी बजारीकरणमा अब्बल व्यवस्थापक मानिन्थे।

रमपम चाउचाउ हुँदै लाली चाउचाउको बजारीकरण र व्यवस्थापनमा उनले आफूलाई राष्ट्रिय स्तरमै पहिचान दिन सफल भएको उनलाई नजिकबाट चिन्नेहरू बताउछन्। छवि पछिल्लो समय यसोदा फुड्समा कर्पोरेट म्यानेजरको रुपमा कार्यरत थिए। 

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले ओरालोमा गाडी अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने बताए। घटनाको अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए।

जेठ ३१, २०८१ बिहीबार १७:११:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।