सुरु भयो मौसमी कहर, ताप्लेजुङमा पुल बगे, खाँदवारिमा पहिरोले तीन घर बगायो

सुरु भयो मौसमी कहर, ताप्लेजुङमा पुल बगे, खाँदवारिमा पहिरोले तीन घर बगायो

काठमाडौँ : नेपालमा मनसुन भित्रिए लगत्तै भारी वर्षाका कारण बाढी र पहिरोको कहर सुरु भएको छ। सङ्खुवासभा र ताप्लेजुङमा परेको भारी वर्षाका कारण पहिरोले तीन घर बगाएको छ भने बाढीले पुलहरू बगाएको छ।

सङ्खुवासभाको खाँदवारि नगरपालिका–११ आङ्लाको कोक्तिमा गाउँमा पहिरो आउँदा तीन वटा घर बगाएको छ। बुधवार बेलुका परेको पानीका कारण पहिरो जाँदा स्थानीय मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोमा बगेको हो।

उता ताप्लेजुङको सिसवा खोला, तावा खोला र सिस्ने खोलामा आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाउँदा यातायात अवरुद्ध भएका छन्।

बाढीले चार वटा पुल बगाउँदा फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडकको आवागमन अवरुद्ध भएको छ। बाढीले तावा खोलामा भएको बेलिब्रिज र काठका मोटरेवल पुल बगेका छन्।

सिसावा खोलाको बाढीसँगै आएको गेग्रानहरुले ड्याम बन्दा बिहीबार बिहान तमोर नदी थुनिएको थियो। नदीको बहाव सुरु भइसकेको छ। तल्लो तटमा रहेका स्थानीयलाई स्थानीय प्रशासनले सचेत गराएको छ।

जेठ ३१, २०८१ बिहीबार १५:२७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।