जसपा नेपालको पदाधिकारी छान्ने जिम्मा अध्यक्ष उपेन्द्रलाई, आकांक्षीको सङ्ख्याले सहज छैन सहमति

जसपा नेपालको पदाधिकारी छान्ने जिम्मा अध्यक्ष उपेन्द्रलाई, आकांक्षीको सङ्ख्याले सहज छैन सहमति

काठमाडौँ : एकता महाधिवेशन गरिरहेको जनता समाजवादी पार्टी नेपालको पदाधिकारीहरू सहमतिमा चयन हुने भएको छ। पहिलो एकता महाधिवेशनमा अध्यक्षमा उपेन्द्र यादव सर्वसम्मत चयन भएका थिए।

अन्य पदमा उम्मेदवारी परेपछि बिहीबार निर्वाचनको तयारी भएकोमा अन्य पदमा समेत सर्वसम्मत पदाधिकारी चयनको जिम्मा अध्यक्ष यादवले नै पाएका छन्। बिहीबार मतदानको सट्टा महाधिवेशन प्रतिनिधिहरूले अध्यक्ष यादवलाई पदाधिकारी चयनको जिम्मा दियो।

महाधिवेशन प्रतिनिधीहरुले पार्टीका वरिष्ठ नेताहरूसँगको छलफलमा सबै पदाधिकारीको सर्वसम्मत चयन गर्ने अधिकार दिएको हो।

महाधिवेशन प्रतिनिधीहरुले दिएको अधिकार अनुसार अध्यक्ष यादवले पार्टी पदाधिकारीहरू टुङ्गो लगाएर महाधिवेशन हलबाट पारित गराउने तयारी गरेका छन्।

तर सहज छैन सहमति

एकता महाधिवेशनको तयारीकैक्रममा जसपा नेपाल विभाजित भएर जसपा गठन भएको थियो। यो मुद्दा अहिले अदालतमा चलिरहेको छ। जसपा नेपालको पदाधिकारी २१ जना र केन्द्रीय समिति २ सय १ सदस्यीय रहेको छ।

बुधवार सहअध्यक्षका लागि राजकिशोर यादव, मो. लालबाबु राउत र रकम चेम्जोङको उम्मेदवारी परेको थियो। पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो. खालिद, गोविन्द चौधरी, आङदेङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन गरेका थिए। यसमा जम्मा चार जना छानिन्छ।

महिला उपाध्यक्षका लागि रेखा यादव, लिलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सबिता यादव र राधा थापासहित ६ जनाले उम्मेदवारी दिएका थिए। महिला उपाध्यक्ष एक जना निर्वाचित हुने हो।

दुई महासचिवका लागि मनिषकुमार सुमन, रामकुमार शर्मा, बोमबहादुर दर्लामी मगर, विजयकुमार, दीपक कार्की र अशोककुमार यादवले उम्मेदवारी दिएका थिए।

एक महिला र २ पुरुष उपमहासचिवका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। २ सय १ सदस्यका लागि तीनसय बढीको उम्मेदवारी परेको छ।

जेठ ३१, २०८१ बिहीबार १५:१०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।