निर्देशक तथा कलाकार अमृतमान महर्जनको हिजोका कुरा : दीपकराज गिरीले फट्याइँ नगरेको भए मेरो हात जल्दैनथ्यो
कुनै समय काठमाडौंका नेवारी समुदायमा नाटकप्रति खुवै रुचि थियो। राजारानीको पोशाक लगाएर सोही अनुसारको नाटक खेल्थे। हजुरबुवा र बुवा पुस्ताले गरेको नाटक हेर्दै कलाकारितामा होमिएका व्यक्ति हुन् निर्देशक अमृतमान महर्जन।
तत्कालीन काठमाडौंको बलम्बु गाविसमा जन्मिएका अमृत तीन दिदिहरूको कान्छो भाइ। उमेरले पाँच दशक पार गरिसकेका छन्।उनका बुबा नाटक लेख्ने खेल्ने गर्थे। तर, एउटै छोरो भएकोले छोरालाई पढेर जागिर खाओस् भन्ने चाहन्थे। तर, अमृत लुकी-लुकी नाटक गर्थे अनि नाच्थे पनि।
एक दिन उनी नाचेको भिडियो बुवाले टिभीमा देखेछन्। त्यसपछि अमृतलाई उनका बुवाले ‘गोरु’ भने। नाटकमा गोरु जस्तै हो जोतिनुपर्ने भएकाले उनलाई बुवाले त्यसो भनेका रहेछन्।
नाच्ने र गाउने सिलसिलामा अमृतले अमिताभ बच्चन र श्रीदेवी अभिनित फिल्म ‘खुदा गवाह’को कोरसमा नाच्ने अवसर पाए। उनले नाटकमा अभिनय गर्दा हात नै पोल्नु परेको दुर्घटनासमेत भएका छन्।
आफ्नो पाँच दशक लामो जीवनमा उनले भोगेका विभिन्न अनुभव र भोगाइहरू अमृतले उकेराको नियमित स्तम्भ हिजोका कुरामा यसरी सुनाएका छन्।
पढेर के हुन्छ र भनिथ्यो, छोरीसँगै मास्टर पढियो
मेरो पठनपाठन स्थानीय स्कुलमा भयो। त्यतिबेला बलम्बु प्राथमिक विद्यालयमा तीन कक्षासम्म प्रभात निमाविम सात कक्षासम्म र एसएलसीसम्म नैकापको विद्या मन्दिर माध्यमिकमा पढियो। मेरो पालासम्म आइपुग्दा स्कुल पढ्नुपर्छ र पढाउनुपर्छ भन्ने कमै थिए।
४० वर्षअघि मलाई पढेर के हुन्छ र जस्तो लाग्थ्यो। त्यतिबेला पढेर जागिर खाने त हो नि भन्ने मानसिकता थियो। खेतिपातीमा नै हाम्रो बढी चासो हुन्थ्यो। नेवारमा पनि हामी ज्यापु महर्जन। घरखेत भएको हुनाले खेतिपातीमा नै बढी काम गरिन्थ्यो।
मेरो ब्याचमा म बाहेक कसैले पनि मास्टरसम्म पढेका छैनन्। केहि वर्षअघि मैले अर्थशास्त्रमा मास्टर गरेँ। छोरी सँगसँगै मास्टर सक्दा एकदमै रमाइलो लाग्यो। पाटन क्याम्पसमा छोरीलाई पुर्याएर म टियुको परीक्षा दिन जान्थेँ।
मैले थाहा पाउँदा हाम्रो बुवा, हजुरबुबा बलम्बू हस्पिटल रहेको सबै ठाउँमा खेतिपाती गर्नुहुन्थ्यो। हाम्रो त्यतिबेला ३५ रोपनी जग्गा थियो। बुबाहरूले मात्रै खेतिपाती गर्न नसकेर उता पालुङदेखि तामाङहरू आएर खेतिपाती गर्न सघाउथेँ।
बर्खामा आएका उनीहरू खेतिपाती गरेर हिउँदको गहुँ छरेर मात्रै उहाँहरू फर्कनुहुन्थ्यो। मलाई अहिले पनि धेरै कुराहरू त्यति बेलाको सम्झना आउँछ। ती तामाङ दाइहरू साह्रै बलिया थिए। बारीबाट धान झारेर घरको ढुकुटीमा खसाल्न लैजाँदा बोरामाथि मलाई पनि काँधमा हालेर लैजान्थे।
त्यतिबेलाको त्यो खेतबारी, अहिले त घरै-घरले भरिएको छ। त्यतिबेलाको जस्तो हरियाली पनि छैन। मलाई त सपना जस्तो लाग्छ। त्यतिबेला पैसा ठूलो भन्ने लाग्दैनथ्यो। अहिले पैसै ठूलो जस्तो लाग्छ। त्यतिबेला पैसाका लागि अन्न बेच्नुपर्ने हुन्थ्यो, अहिले अन्नको भन्दा बढी पैसाको भ्यालु बढी भएको जस्तो लाग्छ।
त्यतिबेला आफ्नै बारीको तोरीको तेल, धान, मकै, कोदो जे पनि आफ्नै खेतबारीको हुन्थ्यो, किन्नु पर्दैनथ्यो। त्यहि भएर पनि होला त्यति धेरै पैसाको महत्व थिएन। अहिले पैसा छैन भने त खानै पाइँदैन। पैसाको महत्व बढेर गयो। धेरै फरक भइसक्यो।
रोपनीको साढे दुई लाख दिएर राजाले अस्पताल बनाए
अहिले बलम्बुको प्रहरी अस्पताल भएको ठाउँमा ३० वर्षअघि हाम्रो खेतबारी थियो। त्यतिबेलाको खेतमा परालको छाप्रो बनाइएको हुन्थ्यो। त्यहाँ हामी सुत्ने गर्थ्यौं। आफू त्यसरी हुर्किएको ठाउँमा अहिले पूरै घरैघर र ठूलो हस्पिटल बनेको छ।
हाम्रो हजुरबुबाको ३५ रोपनी जग्गा थियो। बुवाको पालासम्म रहेको त्यो जमिन अहिले धेरै बेचबिखन भयो। बाहिरबाट आएका मान्छेहरूलाई ४ आना, ५ आना र प्लटिङ गरेर बेचेको हुनाले अहिले थोरै छ।
तत्कालीन विरेन्द्र शाह सरकारमा भएको समयमा हामीलाई बाध्य पारेर १३ रोपनी जति जग्गा अहिले शसस्त्र प्रहरी बलको हस्पिटल बलम्बुमा मिसाए। राजा विरेन्द्रले हस्पिटलका लागि भनेर रोपनीको साढे २ लाख दिएका थिए।
हाम्रो र अरुको गरेर १५० रोपनी जग्गा लिइयो। हामीले आन्दोलन गरेका थियौँ तर केहि पनि लागेन। त्यो बेला एकदमै निरंकुश हिसाबमा साढे दुई लाख दिएर १५० रोपनी जग्गा लिइएको थियो।
नेवारीमा नाटकको प्रभाव
त्यतिबेला हामी नेवारीहरूमा नाटक खेल्ने चलन थियो। अहिले त निकै कम भइसकेको छ। मैले थाहा पाउँदा चोकमा नाटक हुन्थ्यो। दबु प्याखः भन्ने चलन थियो। त्यहाँ नाटक मञ्चन गरिन्थ्यो। मेरो बुवाको समयमा राजारानीको ड्रेसअप र मेकअफ गरेर नाटक मञ्चन गरिन्थ्यो।
कुनै कलाकारलाई राजारानीको भेषभुषामा सजाएर नाटकमा उतारिन्थ्यो। राजारानीको भेषभुषाहरू सबै घरमा नै बनाउने चलन थियो। त्यतिबेला नाटक घर थिएन। नाटकघर नभएपछि बाहिर चोकमा ड्रम राखेर, सुकुल बिछ्याएरै नाटक गरिन्थ्यो। त्यतिबेला नाटक हेर्ने को क्रेज असाध्यै थियो। त्यो मैले पनि अनुभुति गर्न पाएँ।
मैले थाहा पाउँदा छोरी मान्छेहरू नाटक खेल्दैनथे। अनि छोरा मान्छेलाई नै छोरीको मेकअफ गरेर अभिनय गराउनुपर्थ्यो। म आफैँले पनि नाटक खेल्दा होस् या निर्देशन गर्दा केटालाई केटी बनाएर अभिनय गराउनुपरेको थियो। मैले पहिलो पटक नाटकमा अभिनय गर्दा केटी बनेर गरेको थिएँ।
करिक ४२ वर्षअघि नेवारी भाषाको ‘पापी संसार’ भन्ने नाटकमा मैले केटी बनेर अभिनय गरेको छु। नेपाली नाटक ‘राज सर’मा त्यतिबेलै मैले छोटो भूमिका निभाएको थिएँ। म आफैँले कक्षा ८ मा पढ्दा विद्या मन्दिर स्कुलको वार्षिक कार्यक्रममा एउटा छोटो नाटक मञ्चन गरेको थिएँ।
आफैँले नाटक निर्देशन गरेपछि मैले नेवारी भाषाको नाटक ‘प्रेमी या प्रेम वचन’मा पहिलोपटक वास्तविक केटीलाई नै अभिनय गराएँ। त्यतिबेला केटीहरूले नाटक खेल्न हुँदैन भन्ने चलन थियो। मैले नाटकमा अभिनय गराएपछि हेर्नेको भीड लागेको थियो। त्यतिबेला नेवारले नाटक गर्दा भोज खुवाउने चलन थियो।
राष्ट्रिय नाचघरमा पैसा तिरेर नाटक हेर्ने दर्शक सीमित हुन्थे। पहिलो पटक केटीले नाटक गर्दैछ भन्ने थाहा भएपछि नाचघरमा धेरै दर्शक ओइरिए। त्यो भीड देखेर हाम्रो लेडिज कलाकार बेहोस् भइन्। त्यस्तोसम्म भएको थियो त्यतिबेला कलाकार बन्दा र बनाउँदा। अहिले त त्यस्तो समय छैन। निकै फरक भइसक्यो।
नाटकको स्क्रिप्ट सेन्सर
मैले थाहा पाउँदा नेपालमा पञ्चायत व्यवस्था थियो। नाटक लेखेर सिधै मञ्चन गर्न पाइँदैनथ्यो। मेरो बुवा पनि नाटक खेल्ने, निर्देशन गर्ने गर्नुहुन्थ्यो। शताब्दी पुरुष सत्यमोहन जोशीसँगै मेरो बुवा (भाइमान)ले पनि नाटक गर्नुहुन्थ्यो। सत्यमोहनहरू पब्लिसिटीमा आउने तर मेरो बुवा अगाडि आउन नचाहने स्वभावको हुनुहुन्थ्यो।
उहाँहरूले सिडियो कार्यालयमा स्क्रिप्ट दिएपछि कुन-कुन शब्द राख्ने कुन हटाउने भनेर चिनो लगाइदिन्थ्यो। त्यहि अनुसारको नाटक गर्नुपर्ने हुन्थ्यो। सिडियो कार्यालयले हुन्छ भनेपछि मात्र नाटकको तयारी गरिन्थ्यो। उहाँहरूको समयमा त्यस्तो थियो।
पछि बहुदल आयो। बहुदल आएपछि सिडियो कार्यालयले त्यति साह्रो गरेन। मेरो बुवाले जमिन्दार र शोषककै बारेमा नाटक लेख्ने हुँदा सेन्सर गर्नुपर्थ्यो। त्यतिबेला गीति नाटक अलि प्रचलनमा थियो।
छोरो नाटकमा नलागोस् भन्ने बुवाको चाहना
बुवाको चाहना छोरो नाटकमा नलागोस् भन्ने थियो। उहाँलाई म नाटकमा लागेको पटक्कै मन परेको थिए। बुवालाई छक्याई छक्याई मैले अभिनय, डान्स क्लासमा भर्ना भँए। डान्स सिकेँ। त्यतिबेला बसन्त श्रेष्ठको डान्स सिक्दा श्रीकृष्ण श्रेष्ठ र म एउटै कक्षाका विद्यार्थी थियौँ। मैले डान्स गरेको कुरा घरका कसैलाई पनि थाहा थिएन।
हामीले डान्स सिकिरहेको बेला नेपालमा सार्क सम्मेलन भएको थियो। त्यसमा हामीले नाचेका थियौँ। त्यो नाच टेलिभिजनबाट प्रसारण भयो। हाम्रो घर छेउछाउ कसैको घरमा पनि टिभी थिएन, हाम्रोमा मात्रै थियो। त्यो सार्क सम्मेलन हेर्न भिड भएका सबैले म नाचेको देख्नुभयो। त्यो देखेपछि मेरो बुवाले यति गाली गर्नुभयो कि कुरै छैन।
तीन दिदीको एक्लो भाइ, त्यो पनि घरको एक्लो छोरा। बुवाले पनि एकदमै माया गरेको छोरो टिभीमा नाचेको देखेपछि फ्रस्टेसनमा जानुभयो नि! पढ्न पठाको नौटंकीको लाइनमा लागिस् भनेर सारै चिन्तित हुनुभयो। मलाई के भन्नुभयो भने यो लाइन भनेको ‘गुरुलाई गोरु’ बनाउने ठाउँ हो भन्नु हुन्थ्यो।
पछि बुवाकै चाहनाअनुसार नाटक खेल्दै पढ्न थाले। मैले पहिलो पटक ‘मायाको बन्धन’ भन्ने फिल्ममा साइड डान्सर भएर नाचेँ। त्यो बेला श्रीकृष्ण श्रेष्ठ हिरो थियो। यसपछि फिल्म ‘कोसेली’, ‘चिनो’, ‘मोहनी लाग्ला है’ मा कोरस नाचेँ।
अमिताभ बच्चन र श्रीदेवीको फिल्ममा कोरस डान्सर
मैले अमिताभ बच्चन र श्रीदेवी अभिनित हिन्दी फिल्म ‘खुदा गवाह’मा पनि कोरस नाचेको छु। ३० वर्षअघि उनीहरू यो फिल्म सुटिङका लागि नेपाल आएका थिए।
डिल्लीबजारमा रहेको एउटा स्कुलमा यो फिल्मको कोरस नचाउने कुरा भयो। त्यसको लिडर मलाई बनाइएको थियो। त्यतिबेला ‘नेपालके डान्सर’ भनेर एक जनाले चिनाउनुभएको थियो। त्यतिबेला मैले उहाँहरूसँग हात मिलाएको थिएँ।
सेटमा नै भएको हुनाले धेरै कुराकानी गर्न पाइएन। श्रीदेवी र अमिताभ बच्चन आएको कुरा सुनेपछि भीड थाम्न नसकेर डिल्लीबजारबाट कालिकास्थान जाने बाटैमा रहेको स्कुलको पर्खाल नै भत्किएको थियो। स्कुल अगाडि एउटा घर थियो त्यतिबेला। त्यो घरबाट श्रीदेवी निस्कने सिन थियो।
श्रीदेवीलाई बाहिर निकाल्ने बेलामा छाता ओढाएर बाहिर ल्याउनुपर्ने थियो। त्यतिबेला सुटिङ हेर्न आएका नेपालीहरूको हुटिङ चल्यो। उनीहरूको क्रेज एकदमै थियो नि! यो फिल्मको सुटिङ गर्दा मैले केहि नेपाली सिरियलहरूमा काम गरिसकेको थिएँ।
दीपकराज गिरीको फट्याइँले मेरो हात जल्यो
करिब तीस वर्षअघिकै कुरा हो। दीपकराज गिरी र हामी मिलेर राष्ट्रिय सभागृह एउटा नाटक गरेका थियौं। आरआर कलेजमा एउटै ब्याचका हामी एक अर्काको नाटकमा भने सहभागी हुन्थ्यौं। त्यहिबेला राष्ट्रिय सभा गृहमा ‘मृत्यु दण्ड’भन्ने नाटक मञ्चन गरियो। त्यसमा दीपकको पुलिस र म हिरोको भूमिकामा थिएँ।
यो नाटकमा मायाको चिनोको रूपमा रहेको रुमाल हातमा जलाउनुपर्ने, अपाङ्ग नभए पनि प्रेमीको माया जाँच्न विदेशबाट वैशाखी टेकेर आउनुपर्ने सिन थियो। मैले हातमा रुमाल बाँधे। अनि हिरोइन्को अगाडि ‘तिम्रो मायाको चिनो यसरी जलाई दिन्छु’ भन्दै स्प्रिष्ट हालेर जलाएँ।
जलाउने बितिक्कै दीपक आएर बैशाकीमा किक हान्नुपर्ने थियो, ऊ त आउँदै आएन। हात पोल्न थालिसक्यो। दीपक कसै गरे पनि त्यो सिनमा नआएपछि म आफैले त्यो जलिरहेको रुमाल छातीमा लगेर निभाएँ।
दीपक आफैँ यो नाटकको लेखक अनि निर्देशक थियो। बिर्सियो भन्ने कुरै भएन। सायद मलाई पोलोस् भनेर नै होला उसले ननिभाएको। अगाडि दर्शक छन्। हात पोल्यो भन्न पनि मिलेन। अनि मैले ‘हेर तिम्रो मायाको चिनो, यो जलाई त के हो। मेरो मुटुभित्र खरानी झैँ उड्न मात्रै सकेको छैन’ भनेर आगो बलेको रुमाल छातीमा राखेर निभाउने कोसिस गरे।
त्यो आगोले मेरो नयाँ कोटै प्वाल पर्यो। हलमा हुन्जेल त केहि गर्ने कुरै भएन। स्टेज बाहिर आएपछि नयाँ कोट सम्झेर खुब रुन मन लाग्यो। दीपकले फट्याइँ काम नगरेको भए मेरो देब्रे हातमा अहिले पनि खत देखिने थिएन।
जेठ ३१, २०८१ बिहीबार १४:२१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।