गृहमन्त्रीलाई विद्याको सुझाव : भत्ता दिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्यको प्रावधानको मिति सारौं

गृहमन्त्रीलाई विद्याको सुझाव : भत्ता दिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्यको प्रावधानको मिति सारौं

काठमाडौं : एमाले सांसद् विद्या भट्टराईले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने प्रावधानको समय लम्ब्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएकी छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद् भट्टराईले दुर्गम गाउँबाट अशक्त व्यक्तिहरू जिल्ला प्रशासन कार्यालयमा गएर कुर्दा पनि पालो नपाएको साउनबाट अझै केही समय लम्ब्याउन आग्रह गरेकी हुन्।

उनले भनेकी छन्, ‘सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने निर्णयको प्रावधान तोकिएको साउन महिनाभन्दा केही पर सारौं।’

साथै उनले भिडभाड र पालो नआउने अवस्थाको अन्त्यका लागि घुम्ती शिविर सञ्चालन गर्नु समेत गृहमन्त्रीलाई सुझाव दिइन्।

उनले थपिन्, ‘राष्ट्रिय परिचयपत्र आवेदन संकलनका लागि वडा स्तरमा नै निश्चित समयमा घुम्ती शिविर सञ्चालन गर्न सकियो भने यसलाई व्यवस्थित गर्न सकिन्छ भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउँछु।’

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि अहिले देशभरका जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय पञ्जीकरण कार्यालयमा सेवाग्राहीको भिड बढेको छ।

जेठ ३१, २०८१ बिहीबार ११:३५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।