नेपालमा वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न

नेपालमा वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न

काठमाडौं : नेपालले विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न गरेको छ।

नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन  राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा उक्त सम्मेलन गरिएको थियो।

सम्मेलनले फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्व सम्बन्धी महत्वपूर्ण मुद्दाहरूको समाधानको लागि सरकारी कर्मचारीहरू, उद्योग व्यवसायीहरू, वातावरणविद् र नागरिक अगुवाहरूलाई एकसाथ ल्याएको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालज्युले वृक्षारोपण गरी गरेका थिए।  उद्घाटन समारोहमा प्रमुख अतिथिको मन्तव्य, मटेरियल रिकभरी फेसिलिटीको अनावरण र ‘एबिसी फर क्लाइमेट चेन्ज’ पुस्तकको विमोचन गरिएको थियो।

सम्मेलनको समापनमा भने वातावरण तथा वन मन्त्री माननीय नवल किशोर साह सुडीले मन्त्रालयले जलवायु चुनौतीका लागि चालेका आवश्यक पहलका बारेमा जानकारी दिएका थिए।

कार्यक्रममा कोका–कोला फाउन्डेसनका अध्यक्ष कार्लोस पागोआगाले वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपालको लागि एक कोशेढुङ्गा भएको बताए। यस सम्मेलनले हामीले सामना गर्नुपरेको वातावरणीय चुनौतीहरूको दिगो समाधानहरू खोज्ने साझा प्रतिबद्धतालाई उजागर गरेको उनको भनाइ छ।

सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिका बारेमा स्थानीय सरकारी अधिकारी र उद्योगीहरूबीच संवाद गरिएको थियो। सम्मेलनमा ललितपुर, धनगढी, धनकुटा, बूढानीलकण्ठका मेयर  र चन्द्रागिरिका उपमेयरहरूको सहभागिता थियो।

सम्मेलनले सर्कुलर अर्थव्यवस्थालाई प्रवर्द्धन गर्न फोहोरलाई उपयोगी स्रोतहरूमा परिणत गर्ने उपायहरूको बारेमा  छलफल गरिएको थियो। छलफलमा कार्बन उत्सर्जन, प्लास्टिक प्रदूषण, काठमाडौंको वायु प्रदूषण, सगरमाथा लगायत हिमालहरुमा देखा परेको जलवायु परिवर्तनको असर जस्ता विषयमा छलफल भएको थियो।

साथै जिआइजेटले सम्मेलनमा प्रस्तुति दिँदै फोहोर व्यवस्थापनका नौला विचारहरू र पेरिस सम्झौतामा नेपालको प्रतिबद्धतालाई उजागर गरेको थियो।

कार्यक्रममा वुमन फर ह्युमन राइट्सकी अध्यक्ष कविता पाण्डेले सम्मेलनले जलवायुका असर कम गर्ने कार्यमा भाग लिन चाहने समुदायहरूलाई थप उर्जा प्रदान गरेको बताइन्। उनले वातावरण संरक्षणमा महिलाहरूको सहभागितालाई पनि सशक्त बनाएको उल्लेख गरिन्।

प्रतिनिधि सभा सदस्य सोबिता गौतम, तोसिमा कार्की र उदय राणाको मन्तव्यले वातावरणीय चुनौतिहरूको सामना गर्न साझा प्रयासको महत्वपूर्ण आवश्यकतालाई जोड दिएको थियो। उनीहरूको मन्तव्यले दिगो समाधानहरू बढाउन संयुक्त शक्तिको आवश्यकतालाई प्राथमिकतामा राखेको थियो।

नेपालमा फोहोर व्यवस्थापन र जलवायु सम्बन्धी कार्यलाई अगाडि बढाउने व्यापक चासो र प्रतिबद्धतालाई उजागर गर्न ३३ जिल्ला र ५ देशका गरी ६०० संस्थाका करिब एक हजार प्रतिनिधिहरू उक्त सम्मेलनमा सहभागी थिए।

जेठ ३१, २०८१ बिहीबार ११:१०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।