न्यूजिल्यान्डलाई १३ रनले पराजित गर्दै वेस्ट इन्डिज सुपर आठमा

न्यूजिल्यान्डलाई १३ रनले पराजित गर्दै वेस्ट इन्डिज सुपर आठमा

काठमाडौं : आईसीसी टी२० विश्वकप क्रिकेटको बिहीबारको खेलमा न्यूजिल्यान्डलाई १३ रनले पराजित गर्दै घरेलु टोली वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरेको छ।

१५० रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर १३६ रनमा समेटियो।

उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४० रन जोडे। त्यसबाहेक फिन एलेन २६, डार्ली मिचेल १२ तथा रचिन रविन्द्र र जेम्स नीसमले समान १०-१० रन बनाउँदा मिचेल स्यान्टनरले अविजित रहँदै २१ रन हिर्काए।

वेस्ट इन्डिजका अल्जारी जोसेफ चार, गुडाकेस मोटी तीन तथा आन्द्रे रसल र अकील हुसेनले एक-एक विकेट लिए।

त्यसअघि वेस्ट इन्डिजको ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४९ रन बनायो।

उसका लागि शेरफेन रथरफोर्डले ३९ बलमा दुई चौका र छ छक्काको मद्दतमा अविजित रहँदै ६८ रनको विस्फोटक पारी खेले।

त्यसबाहेक निकोलस पुरन १७, अकील हुसेन १४, रोमारियो सेफर्ड १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

न्यूजिल्यान्डका ट्रेन्ड बोल्टले तीन, टिम साउथी र लोकी फरगुसनले समान दुई-दुई तथा जेम्स नीसम र मिचेल स्यान्टनरले समान एक-एक विकेट लिए।

जितसँगै वेस्ट इन्डिजले तीन खेलबाट छ अंक बटुलेको छ। वेस्ट इन्डिजले समूह चरणको आफ्नो अन्तिम खेल अफगानिस्तानसँग खेल्दैछ।

जेठ ३१, २०८१ बिहीबार १०:०१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।