आफ्नो नामबाट फिल्म बनेपछि अदालत पुगे करण जोहर

एजेन्सी : बलिउड निर्माता तथा निर्देशक करण जोहरले शुक्रबारबाट रिलिज हुने फिल्म ‘शादी के डायरेक्टर करण और जोहर’का निर्माताविरुद्ध बम्बइ उच्च अदालतमा मुद्दा दर्ता गरेका छन्।
फिल्मको नाममा आफ्नो नामको प्रयोग भएकाले त्यसलाई रोक्न माग गर्दै उनी अदालत गएका हुन्। उनले मुद्दाको टुंगो नलागुञ्जेलसम्म फिल्म रिलिज रोक लगाउन पनि माग गरेका छन्।
करणका वकिल पराग खण्डराका अनुसार यो मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ।
‘फिल्मको नाममा करण जोहरको नाम प्रयोग गरेर निर्माताले म पनि यो फिल्ममा जोडिएको छु भनेर ठूलो मात्रामा जनताको मनमा भ्रम पैदा गरिरहेका छन्,’ करणले भनेका छन्, ‘आम जनता तुरुन्तै यो फिल्ममा जोडिन्छन् भन्ने भ्रम निर्मातामा छ। मैले फिल्मको नाम थाहा पाएपछि यसमा एक्सन लिएको हुँ।’
करणले मुद्दामा फिल्मसँग आफ्नो कुनै सम्बन्ध नरहेको उल्लेख गर्दै निर्माताले गैर कानूनी रूपले आफ्नो नामको प्रयोग गरेको आरोप लगाएका छन्। यो फिल्म इण्डियाप्राइड एडभाइजरी प्रालिले बनाएको हो। फिल्ममा सञ्जय सिंह र बब्लू सिंहको निर्देशन छ।
मुद्दामा फिल्मले करणको अधिकार, प्रचारको अधिकार र गोपनियताको अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ।
‘फिल्मको नाममा उनको नाम प्रयोग गर्नु करणको प्रतिष्ठान गिराउनका लागि गरिएको हो, जुन कानूनी रुपमा स्वीकार्य हुन्न। करण भारत र विश्वव्यापी रुपमा एक ठूला हस्ती हुन्। उनलाई करण जोहरको नामले चिनिन्छ। उनको नाम प्रयोग गर्नु भनेको करणको नाममा फाइदा उठाउनु हो’, मुद्दामा उल्लेख छ।
जेठ ३१, २०८१ बिहीबार ०९:३६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।