इटालीमा आमनेसामने हुँदै मोदी र ट्रुडो

इटालीमा आमनेसामने हुँदै मोदी र ट्रुडो

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच भेटावार्ता हुने भएको छ।

मोदी शुक्रबार इटालीमा आयोजना हुने जी-७ सम्मेलनमा सहभागी हुने भएसँगै दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने भएको हो।

भारत जी-७ सदस्य नभए पनि आमन्त्रित सदस्यको रूपमा पाँचौं पटक सम्मेलनमा सहभागी हुँदैछ।

क्यानडामा भारतविरुद्धका गतिविधिका लागि स्थान दिइएको भारतले आपत्ति जनाउँदै आएको छ।

केही समयअघि खालिस्तानी समर्थक भारतीय मूलका क्यानडियन नागरिकको विषयमा भारत र क्यानडाबीचको सम्बन्धमा दूरी बढेको थियो। त्यसपछि क्यानडाले दक्षिण एसियाली विद्यार्थीलाई क्यानडा प्रवेशमा कडाइ गरेको थियो।

जी-७ सम्मेलनमा भारतले ग्लोबल साउथका मुद्दाहरूलाई जोड दिने भारतीय अधिकारीहरूले बताएका छन्।

मोदीले रुस-युक्रेन द्वन्द्व अन्त्य गर्न वार्ता र कूटनीतिको महत्त्वबारे पनि कुरा गर्नेछन्। गाजा द्वन्द्व समाधान गर्ने प्रयास पनि जी-७ को एजेन्डामा प्राथमिकता हुने बताइएको छ।

मोदी शुक्रबार जी-७ को आउटरीच सत्रमा भाग लिनेछन्। उनले जी-७ देशका धेरै नेताहरूसँग द्विपक्षीय वार्ता पनि गर्नेछन्। उनले आमन्त्रित नेताहरूसँग पनि भेट गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय विदेश सचिव विनय क्वात्राले बुधबार प्रधानमन्त्री मोदीले इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीलाई पनि भेट्ने बताएका छन्। दुई देशबीचको वार्ताको एजेण्डा टुंगो लागिसकेको छ।

जेठ ३१, २०८१ बिहीबार ०९:०६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।