‘बाटो : रोड टु डेथ’ हेरेर डराइन् उषा, भनिन्- ‘मुटु झिकेको दृश्य असाध्यै भयानक’

‘बाटो : रोड टु डेथ’ हेरेर डराइन् उषा, भनिन्- ‘मुटु झिकेको दृश्य असाध्यै भयानक’

काठमाडौं : नेपालमा लभ स्टोरी र समाजिक कथामा फिल्म निर्माण हुँदै आएका छन्। गाउँले परवेशका फिल्म हेरिरहेको र हालसालै ‘लण्डन टु पेरिस’जस्ता फिल्म हेरेका दर्शकका लागि आगामी शुक्रबार भने फरक स्वादको फिल्म चाख्न पाउने भएका छन्।

निर्माण टिमले शुक्रबार प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटो : रोड टु डेथ’ को दुईअघि नै प्रिमियर गरेको छ। बुधबार साँझ पत्रकार र सेलिब्रेटीलाई हेराउन क्युएफएक्स सिनेमाज् लबिम मल पुल्चोकमा प्रिमियर गरिएको थियो।

प्रिमियर हेर्न आएका सेलिब्रेटी र सञ्चारकर्मी एउटा हलमा नअटेपछि दुईवटा हलमा देखाइएको थियो। प्रिमियरमा पुगेकी अभिनेत्री उषा रजकले फिल्मका सबै दृश्य हेर्न नसकेको बताइन्। फिल्म हेरिसकेपछि उकेरासँग कुराकानी गर्दै उषाले फिल्मका कतिपय दृश्य असाध्यै हिंस्रक रहेको बताइन्।

उनले भनिन्, ‘फिल्मको काटमार गरेर हातखुट्टा छरपस्ट पारेको र खलनायकले मुटु झिकेको दृश्य असाध्यै भयानक छ। अधिकांश दृश्य हेर्न सकिनँ।’

दुई वटा हलमा बाँडिएर हेरेका सेलिब्रेटीले फिल्मको दृश्य भयानक लागेको बताए। प्रिमियरमा उपस्थित भएका निर्देशक ज्ञानेन्द्र देउजाले पनि फिल्मका कतिपय दृश्यले आफूलाई छोएको बताए। हास्यकलाकार राजाराम पौडेलले पनि फिल्मको तारिफ गरेका थिए।

फिल्ममा मिथिला शर्मा, पशुपति राई, सुलक्षण भारती लगायतको मुख्य भूमिका रहेको छ। साउथ इण्डियन फिल्मका प्राविधिकहरूलाई लिएर निर्माण गरिएको फिल्मलाई मदन थापाले निर्देशन गरेका हुन्।

जेठ ३१, २०८१ बिहीबार ०८:४६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।