नुवाकोटबाट बुटवल फर्किँदै गरेको स्कर्पियो दुर्घटना, तीन जनाको मृत्यु

नुवाकोटबाट बुटवल फर्किँदै गरेको स्कर्पियो दुर्घटना, तीन जनाको मृत्यु

बुटवल : पाल्पाको तिनाउ गाउँपालिका-२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको स्करपियो दुर्घटनामा परी बुधबार बेलुकी तीन जनाको मृत्यु भएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार दुर्घटनामा परी २ जना घाइते भएका छन्।

नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको स्कारपियो सडकदेखि करिब सय मिटर तल खसेको थियो।

दुर्घटनमा परी मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल उपमहानगरपालिका-१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा-३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते उनीहरूलाई उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

यसैगरी दुर्घटनामा परी बुटवल उपमहानगरपालिका-९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल-११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था मध्यम रहेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ।

दुर्घटना बुधबार बेलुकी करिब ८ बजेर २५ मिनेटको समयमा भएको थियो। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

जेठ ३१, २०८१ बिहीबार ०७:१०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।