सुदूरपश्चिमको १० करोडको अल्ट्रासाउन्ड मेसिन खरिदमा मिलेमतो, फिलिप्सको उत्पादन महंगोमा किन्न ‘स्पेक लक’

सुदूरपश्चिमको १० करोडको अल्ट्रासाउन्ड मेसिन खरिदमा मिलेमतो, फिलिप्सको उत्पादन महंगोमा किन्न ‘स्पेक लक’

काठमाडौँ : सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले मिलेमतोमा करिब १० करोडमा ६१ वटा अल्ट्रासाउन्ड मेसिन (ह्याण्ड क्यारी पोर्टेबल युएसजी मेसिन) खरिद गर्नेगरी टेन्डर आह्वान गरेको खुलेको छ।

केन्द्रले एउटा अल्ट्रासाउन्ड मेसिन करिब १६ लाख ४० हजारमा खरिद गर्ने गरी प्रक्रिया अगाडी बढाएको हो।  यसरी हेर्दा पाँच करोड भन्दा कम मूल्यमा आउने ६१ वटा अल्ट्रासाउन्ड मेसिन करिब १० करोड भन्दा बढी रकममा किन्न प्रक्रिया अगाडि बढेको देखिन्छ त्यो पनि मिलेमतोमा।

सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले गरेको टेन्डर कागजात प्रारम्भिक रूपमा हेर्दा मेसिन उत्पादक कम्पनी ‘फिलिप्स’को लुमफाइ सिरिजको अल्ट्रासाउन्डसँग मात्रै मिल्नेगरी स्पेशिफिकेशन बनाएर उसैको नेपाली सप्लायर्स कम्पनीलाई टेन्डर दिनेगरी प्रक्रिया अगाडि बढेको देखिन्छ।

मेसिन उत्पादक कम्पनी फिलिप्सको नेपाली सप्लायर्स हस्पिटेक इन्टरप्राइजेज प्राली हो। हस्पिटेकका सञ्चालक विशाल पण्डित हुन्।

कोशी अस्पतालका लागि किनिएको हाई डिपेन्डेन्सी युनिटको खरिदमा मेडिकल सामान आपूर्तिकर्तासँग मिलेर २ करोड ८९ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पण्डितसहितविरुद्ध मुद्दा दायर गरेको छ। मुद्दा प्रक्रियामै छ।

यस अगाडि यही अल्ट्रासाउन्ड लुुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले नौ सेेेट मिलेमतोमा किनेको थियो। सो खरिदमा केन्द्रका बायोमेडिकल इन्जिनियर उमेश चौधरी र दागंको युुनाइटेड साइन्टिफिक एन्ड  सर्जिकल हाउसका सन्चालक बालकुमार घर्ती मगरको मिलेमतो देखिएको थियो। अहिले सुदूरपश्चिममा उस्तैगरि मिलेमतोमा खरिद प्रक्रिया अगाडि बढेको देखिन्छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.२’ त प्रत्यक्ष फिलिप्ससँग मात्रै मिल्ने गरी लक्ड भएको एक सिनियर बायोमेडिकल इन्जिनियरले जानकारी दिए। स्पेशिफिकेशनको बुँदा नम्बर ‘३.२’ मा भनिएको छ,‘सिस्टम मस्ट बी अफर्ड वीथ अ मिनिमम अफ ६५,००० डिजिटल प्रोसेस्ड च्यानल्स्।...’

यो फिलिप्सको लुमफाइ सिरिजको उत्पादनसँग मात्र मिल्छ। त्यस्तै स्पेशिफिकेशनको बुँदा नम्बर ३ :३ मा सिस्टम मस्ट बि अफर विथ अ भेरी हाइ डाइनामिक रेन्ज अफ एटलिस्ट १७० डिबी उल्लेख छ। यो पनि फिलिप्सकै उत्पादनसँग मात्र मिल्छ।

यो अल्ट्रासाउन्ड पुरानो ढाँचाको हो जुन सस्तोमा आउनु पर्ने हो तर महँगोमा किन्ने तयारी गरिएको छ। जानकारको दाबी पत्याउने हो भने खरिदमा पाँच करोडको खेल प्रस्टै देखिन्छ।

सेटिङमा टेन्डर मिलाउन संलग्न देखिए डा. नीरज अर्याल। उनी धनगढीस्थित कैलालीको सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’को प्रमुख हुन्।

रेडियोलोजिष्ट चिकित्सक डा. अर्यालको दरबन्दी सेती प्रादेशिक अस्पताल, कैलालीमा छ। तर, उनी सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ मा काम गर्दै आएका छन्। उनलाई प्रदेश सरकारले २०७७ बाट केन्द्रको जिम्मा दिएको हो।

उनी यस अगाडि प्रदेशका चार अस्पतालमा एकीकृत अस्पतालजन्य फोहोर व्यवस्थापन प्रणालीका लागि उपकरण खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै विवादमा तानिएका थिए। त्यो बेलामा पनि पण्डितै जोडिएका थिए मिलेमतोमा। प्रदेशसभाको सामाजिक विकास समितिले अर्यालमाथि छानबिन समेत गरेको थियो।

तर केन्द्रका निर्देशक डा. अर्याल अल्ट्रासाउन्ड मेसिन खरिदको सवालमा स्वास्थ्य सेवा विभागको स्पेक बैङ्कबाट ल्याइएको प्राविधिक स्पेशिफिकेशन हुबहु प्रकाशित गरेको दाबी गर्छन्।

प्रि-बिड मिटिङ बाँकी नै रहेकाले प्रि-बिडमा सप्लायर्सबाट कुनै सल्लाह सुझाव आएको खण्डमा त्यसलाई हेरेर अगाडी बढ्ने डा. अर्यालले बताए।

‘स्वास्थ्य सेवा विभागको स्पेक बैंकबाटै लिएको प्राविधिक स्पेशिफिकेशन हुबहु प्रकाशित गरिएको हो,’डा. अर्यालले भने,‘प्रि-बिड हुन बाँकी नै छ। प्रि-बिडमा भेण्डरहरुले दिएका सुझावहरूलाई पनि आधार मानेर हामी निर्णय गर्छौँ।’

यसरी बढेको छ खरिद प्रक्रिया

अल्ट्रासाउन्ड मेसिन खरिदका लागि प्रिबिड मिटिङ जेठ ३१ लाई तोकिएको छ। सामान्यतया टेन्डर कागजातको पहिलो वा दोस्रो पृष्ठमा नै ‘प्रि-बिड मिटिङ’को मिति तोकिएको हुन्छ। तर, केन्द्रको अल्ट्रासाउन्डको टेन्डर कागजातमा भने ‘सेक्सन-२ को बिड डेटा सिट’को ३३ पृष्ठमा ‘प्रि-बिड मिटिङ’ हुने मिति राखेको छ।

‘प्रि-बिड मिटिङ’मा सप्लायर्सहरुलाई चित्त नबुझेको खण्डमा स्पेशिफिकेशन संशोधनको माग गर्न सक्छन्। सप्लायर्सले स्पेशिफिकेशन संशोधनको माग गरेको खण्डमा आवश्यकता अनुसार मेसिन खरिद गर्ने संस्था (आपूर्ति केन्द्र)ले स्पेशिफिकेशन संशोधन गर्न सक्छ।

असार नौ गते (जुन २३-२०२४)सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको छ भने सोही दिनलाई टेन्डर खुल्ने मिति तोकिएको छ।

सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीको टेन्डरको (आइएफबी) नम्बर ‘पीएचएलएमसीएसपी-जी-एनसीबी-१५-२०८०-८१’उल्लेख छ। सो टेन्डरमा सामग्रीको बारेमा लेखिएको छ,‘दी प्रकुमेन्ट, सप्लाई एन्ड डेलिभरी अफ ह्याण्ड क्यारी पोर्टेबल अल्ट्रासाउन्ड मेसिन।’

टेन्डर कागजात हेर्दा अल्ट्रासाउन्ड खरिदका लागि भएको यो टेन्डरको प्राविधिक स्पेशिफिकेशन २०७९ जेठ २६ (जुन ०९, सन् २०२२) मा नै अनुमोदन भएको देखिन्छ।

नियमको छिद्रा समातेर अल्ट्रासाउन्डको खरिद

सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले अल्ट्रासाउन्डको टेन्डरमा नियम नै पेलपाल बनाएर ‘सिंगल स्टेज सिंगल इन्भेलोप प्रोसेड्युर’ विधि अपनाएको देखिन्छ।

सार्वजनिक खरिद नियमावली अनुसार ‘सिंगल स्टेज सिंगल इन्भेलोप प्रोसेड्युर’ भनेको ‘एक खाम विधि’बाट गरिने खरिदको विधि हो।

तर, केन्द्रले सो अल्ट्रासाउन्डको खरिदमा ‘सिंगल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ विधि अपनाउनुपर्ने थियो। ‘सिंगल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ भनेको ‘दुई खाम विधि’ हो।

सार्वजनिक खरिद नियमावली, २०७४ को नियम ‘३१ज’ मा दुई खाम विधिबाट गरिने खरिदको कार्यविधिका बारेमा उल्लेख छ। नियम ‘३१ज’ को उपनियम (१) मा भनिएको छ,‘बोलपत्रदाताको योग्यताको आवश्यक पर्ने किसिमको मालसामान खरिद वा दुई करोड रुपैयाँभन्दा बढीको निर्माण कार्य गर्नुपर्दा बोलपत्रदाताले प्राविधिक र आर्थिक प्रस्ताव दुई अलग अलग खाममा राखी पेस गर्नुपर्ने छ।’

तर, यो नियमलाई लत्याउँदै केन्द्रले अल्ट्रासाउन्डको खरिदमा एक खाम विधि अपनाएको छ। जुन निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर चाहेकै कम्पनीलाई अल्ट्रासाउन्डको ठेक्का दिन थप सहज बनाइएको देखिन्छ।

नियम अनुसार प्राविधिक र आर्थिक दुवै मूल्याङ्कनको चरणमा छनोट भएको सप्लायर्स कम्पनीलाई टेन्डर आह्वान गर्ने संस्थाले टेन्डर दिइन्छ। टेन्डर स्वीकृतपछि निश्चित प्रक्रिया पूरा गरेर टेन्डर पाउने सप्लायर्स कम्पनीले सामग्री ल्याएर जडान गरिदिने लगायतको काम गर्नुपर्ने हुन्छ।

तर, सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले भने प्राविधिक र आर्थिक दुवै एकैचोटी मूल्याङ्कन गरेर चाहेकै कम्पनीको अल्ट्रासाउन्ड छनोट गरेर सेटिङ अनुसारकै कम्पनीलाई टेन्डर दिने रणनीति देखिन्छ।

दुई खाम विधिबाट गरिने खरिदमा नियम अनुसार टेन्डरको लागि सप्लायर्स कम्पनीले प्राविधिक र आर्थिक दुवै प्रस्ताव छुट्टाछुट्टै गर्नुपर्ने हुन्छ।

पहिला टेन्डर प्रस्ताव गरेका सप्लायर्स कम्पनीहरूको प्राविधिक मूल्याङ्कन हुन्छ। प्राविधिक मूल्याङ्कनमा टेन्डर गर्ने संस्थाले टेन्डर आह्वान गर्दा सार्वजनिक गरेको स्पेशिफिकेशन अनुसारको प्राविधिक पक्षको मूल्याङ्कन गर्छ। प्राविधिक रूपमा एक भन्दा बढी सप्लायर्स कम्पनी छनोट हुन सक्छन्। प्राविधिक मूल्याङ्कन भएपछि मात्रै आर्थिक प्रस्ताव खुल्छ।

प्राविधिक मूल्याङ्कनमा छनोट भएका सप्लायर्स कम्पनी मात्रैको आर्थिक मूल्याङ्कन हुन्छ। प्राविधिक मूल्याङ्कनको चरणमा एक भन्दा बढी टेन्डर प्रस्ताव गर्ने कम्पनी छनोट भएको अवस्थामा जुन सप्लायर्स कम्पनीले कम मूल्यमा गुणस्तरीय सामग्री ल्याइदिने गरी रकम कबुल गरेर टेन्डर प्रस्ताव गर्छ उसैले टेन्डर पाउँछन् र निश्चित खरिदको प्रक्रिया पूरागरी सामग्री ल्याइदिन्छन्।

तर, सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले टेन्डर गरेको अल्ट्रासाउन्ड मेसिनको सवालमा भने टेन्डर प्रस्ताव गर्ने कम्पनीले एउटै टेन्डर कागजातमा प्राविधिक र आर्थिक प्रस्ताव गर्नुपर्ने गरी टेन्डर आह्वान गर्यो। यो टेन्डरमा सप्लायर्सले प्राविधिक र आर्थिक दुवै प्रस्ताव छुट्टाछुट्टै गर्नै पाएनन्।

यसले सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले ६१ वटा अल्ट्रासाउन्ड मेसिन खरिदको लागि गरेको यो टेन्डरमा प्राविधिक र आर्थिक  प्रस्ताव एकै पटक खुल्ने भएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)का अनुसार यसरी दुई करोडभन्दा माथिको रकमको टेन्डरमा ‘सिंगल-स्टेज: सिंगल इन्भेलोप बिडिङ प्रोसेस’ गर्नै पाइँदैन। दुई करोड भन्दा बढी रकमको टेन्डरमा ‘सिंगल स्टेज टु इन्भेलोप बिडिङ प्रोसेस’ विधि अपनाउनुपर्ने हुन्छ।

‘दुई करोड भन्दा मुनिको ‘सिंगल-स्टेज: सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर’ गर्न पाइन्छ,’पीपीएमओका एक कर्मचारीले भने,‘दुई करोड भन्दा माथिको त प्राविधिक प्रस्ताव खोल्ने व्यवस्था गरेकै छ नि।’

त्यसैले केन्द्रले करिब आठ करोड ८० लाखमा अल्ट्रासाउन्ड मेसिन खरिद गर्ने गरी खरिद नियम विपरीत ‘सिंगल-स्टेज: सिंगल इन्भेलोप बिडिङ प्रोसेड्युर’ विधि अपनाएर खरिद प्रक्रिया अगाडी बढाएको देखिन्छ।

यसरी हेर्दा प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निश्चित कर्मचारीको मिलेमतोमा प्राविधिक र आर्थिक प्रस्ताव एकै पटक खोलेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति लिएको देखिन्छ।

प्राविधिक र आर्थिक प्रस्ताव एकै पटक गर्ने अनि एकै पटक प्राविधिक र आर्थिक प्रस्ताव खोलेर बढी रकममा अल्ट्रासाउन्ड मेसिन ल्याइदिने कबुल गर्ने कम्पनीलाई समेत प्राविधिक रूपमा छनोट गर्ने रणनीति देखिन्छ।

त्यति मात्रै हैन एक खाम विधि अपनाउँदा जुन सप्लायर्स कम्पनीलाई टेन्डर दिन चाहेको हो त्यस्तो सप्लायर्सले पेस गरेको प्राविधिक स्पेशिफिकेशनमा केही कमजोरी रहेछन् भने पनि त्यस्तो कम्पनीको प्राविधिक स्पेशिफिकेशन तानतुन गरेर मूल्याङ्कन गरी छनोट गर्न सक्ने जोखिम देखिन्छ।

केन्द्रका प्रमुख डा. अर्यालले भने नियम अनुसार नै खरिद प्रक्रिया अपनाएको दाबी गरे। उनले धेरैले प्रतिस्पर्धा गर्न पाउने गरी खरिद प्रक्रिया अगाडि बढेको हास्यास्पद तर्क गरे।

‘...प्रतिस्पर्धा ओपन भयो। नयाँ अनुभव नभएको पार्टीले पनि बिड गर्न सक्यो,’उनले भने,‘यो कार्यक्रममा स्पेशिफिक एक्सपेरियन्स चाहिँदैन।’

अन्तर्राष्ट्रिय बोलपत्रलाई निषेध

सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’कैलालीले यति ठुलो रकमको अल्ट्रासाउन्ड मेसिनको टेन्डर आव्हान गर्दा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडङ (आइसिबी) को सट्टा ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी) नै गर्यो।

टेन्डर कागजातमा अल्ट्रासाउन्डको टेन्डर पाएर सम्झौता भएको ९० दिनभित्रमा अल्ट्रासाउन्ड मेसिन ल्याइदिनुपर्ने प्रावधान राखिएको छ। यसबाट नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गरेर आउने आर्थिक वर्षसम्ममा अल्ट्रासाउन्ड मेसिन ल्याइदिने रणनीति अनुरूप सो टेन्डर राष्ट्रिय प्रतिस्पर्धामा खुम्च्याएको देखिन्छ।

यसरी हेर्दा खरिदमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गरेर राष्ट्रिय प्रतिस्पर्धामा मात्रै खुम्च्याउनुले समेत चाहेकै कम्पनीलाई दिनेगरी सेटिङ गरेर अल्ट्रासाउन्डको टेन्डर प्रक्रिया अगाडी बढेको देखिन्छ।

सार्वजनिक खरिद नियमावली, २०७४ को नियम ‘३१ङ’मा स्वदेशी बोलपत्रदाताहरुबीच मात्र प्रतिस्पर्धा गराई खरिद गरिने विषयका बारेमा उल्लेख छ। नियम ‘३१ङ’ को उपनियम (१) मा भनिएको छ,‘ऐनको दफा ११ को उपदफा (२) बमोजिम एक चरणको खुला बोलपत्र आह्वान गर्दा दुई करोड रुपैयाँभन्दा बढी र पाँच अर्ब रुपैयाँसम्मको लागत अनुमान भएको निर्माण कार्यको खरिदमा ऐनको दफा १५ को अवस्था बाहेक राष्ट्रियस्तरको खुला बोलपत्रको माध्यमद्वारा स्वदेशी बोलपत्रदाताहरुबीच मात्र प्रतिस्पर्धा गराई खरिद गर्नुपर्नेछ।’

सार्वजनिक खरिद ऐन, २०६३ को दफा-१५ मा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र गर्नेसम्बन्धी व्यवस्था छ। ऐनको दफा-१५ को उपदफा (१) को (क) मा सार्वजनिक निकायको माग अनुरूपको मालसामान वा निमार्ण कार्य प्रतिस्पर्धात्मक मूल्यमा नेपाल अधिराज्यभित्रका एक भन्दा बढी निर्माण व्यवसायी वा आपूर्तिकर्ताबाट प्राप्त नहुने अवस्थामा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र गर्नुपर्ने उल्लेख छ।

सुदूरपश्चिम प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले खरिद प्रक्रिया अगाडि बढाएको  अल्ट्रासाउन्ड मेसिन नेपालमा उत्पादन हुने कुरै भएन। यो विदेशबाट नै खरिद गरेर ल्याउने हो। अनि यसरी विदेशबाट खरिद गरेर ल्याउने सामग्रीमा अन्तर्राष्ट्रिय खरिद प्रतिस्पर्धा नै नगराई एउटा निश्चित सप्लायर्स कम्पनीको स्वार्थ अनुरूप खरिद प्रक्रिया अगाडि बढाउनुले नै मिलेमतो देखाउँछ नै।

त्यति मात्रै हैन। अन्तर्राष्ट्रिय प्रतिस्पर्धा (आइसिबी) गराएर खरिद गरेको मेसिन, औजार तथा उपकरणमा निश्चित अवधिभित्रै कुनै समस्या आएको खण्डमा वा बिग्रिएको खण्डमा त्यसको जिम्मेवारी पनि मेसिन दिने अन्तर्राष्ट्रिय कम्पनीले लिन सक्छ। तर, अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा नगराई राष्ट्रिय स्तर (एनसीबी) मात्रै खरिदमा खुम्चिँदा निश्चित समयावधिभित्रै मेसिन बिग्रिएको खण्डमा स्थानीय सप्लायर्स जिम्मेवारीबाट पन्छिने जोखिम हुन्छ। जसले गर्दा मेसिन चलाउँदै नचलाई थन्किने समेत जोखिम हुन्छ। वा मेसिन केही समय चले पनि थन्किने समेत जोखिम हुन्छ।

जेठ ३०, २०८१ बुधबार २३:२०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।