राष्ट्रपति पौडेलसँगको भेटमा स्वीट्जरल्याण्डका राष्ट्रपति भियोलाले सत्य निरूपणमा राखे चासो

राष्ट्रपति पौडेलसँगको भेटमा स्वीट्जरल्याण्डका राष्ट्रपति भियोलाले सत्य निरूपणमा राखे चासो

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा भेटवार्ता भएको छ।

स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताकारुपमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच बुधवार भेटवार्ता भएको हो।

सो अवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताएका थिए।

'सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयत्नशील छ, यस स्तरोन्नतिलाई सतत्, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक छ, यस ऐतिहासिक विकास लक्ष्य हासिल गर्न हामीलाई ठुलो स्रोत, साधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहेको छ', राष्ट्रपतिको भनाई उद्धृत गर्दै भ्रमण दलमा सहभागी पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५०को दशकदेखि स्विस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल सरकारले स्विस लगानीकर्ताहरूलाई  नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको बताएका थिए।

पौडेलले स्वीट्जरल्याण्ड शान्ति, लोकतन्त्र, कानुनी राज्य तथा समृद्धिका लागि विश्वमा नै मानक मुलुक रहेको बताउँदै उनले यसले अवलम्बन गरेको तटस्थताको नीति नेपालजस्तो असंलग्नताको नीति अङ्गीकार गरेको मुलुकका लागि अनुकरणीय रहेको बताएका थिए।

उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दे नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको नकारात्मक असर व्योहोरिरहेको बताएका थिए।

सो अवसरमा स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरूले कुन क्षेत्रमा सहयोगको आवश्यकता रहेको हो त्यसमा सहयोग गर्न आफूहरू तयार रहेको बताएकी थिइन्। राष्ट्रपति पौडेलले नेपालको सामाजिक र आर्थिक रूपान्तरणका लागि कृषि, पर्यटन र जलश्रोतको क्षेत्रमा लगानीका लागि आग्रह गरेका थिए।

पौडेलले उनलाई नेपाल भ्रमणका लागि आमन्त्रण समेत गरेका थिए। स्विस राष्ट्रपति एमहर्डले समय मिलाएर उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताएको पोखरेले जानकारी दिए।

स्विजरल्याण्डका राष्ट्रपतिले नेपालको शान्ति प्रक्रिया र सत्य निरूपणको विषय आफूहरूको प्राथमिकतामा रहेको जानकारी दिइन्।

जेठ ३०, २०८१ बुधबार २२:२७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।