मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेको आरोपमा फरार युवा २ हप्तापछि पक्राउ

मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कार गरेको आरोपमा फरार युवा २ हप्तापछि पक्राउ

काठमाडौं : मानसिक सन्तुलन ठिक नभएकी महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

सडकमा बेवारिसे भएर हिँड्ने एक महिलालाई जबर्जस्ती करणी गरेर फरार रहेको युवकलाई सर्लाही प्रहरीले करिब दुई हप्तापछि पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीको बसबरिया गाउँपालिका ३ भवानीपुरका ३५ वर्षीय रमन माझी रहेका छन्। माझीले गत जेठ १३ गते करिब ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप रहेको छ।

जेठ १३ मा बागमती नगरपालिका ४ जिरायतस्थित नयाँ बस्तीतर्फ जाने सडक किनारमा महिला अचेत अवस्थामा फेला परेकी थिइन्। 

त्यसपछि प्रहरीले महिलालाई उद्धार गरेर प्रादेशिक अस्पताल मलंगवामा उपचार गराएको थियो। उपचारपछि महिलाले आफूमाथि जबर्जस्ती करणी भएको बयान प्रहरी समक्ष दिएको प्रहरीले जनाएको छ। 

महिलाको मानसिक सन्तुलन ठिक नभएको कारण उनले आफ्नो घर सप्तरी जिल्लामा रहेको बताउने गरेकी तर वास्तविक ठेगाना यकिन हुन नसकेको प्रहरीले जनाएको छ।  

जेठ ३०, २०८१ बुधबार २१:५६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।