फर्जी कागजपत्रको आधारमा वंशजको नागरिकता लिने प्रयास गरेको आरोपमा तीन भारतीय नागरिक पक्राउ

फर्जी कागजपत्रको आधारमा वंशजको नागरिकता लिने प्रयास गरेको आरोपमा तीन भारतीय नागरिक पक्राउ

काठमाडौँ : झुटो विवरण पेस गरेर वंशज नागरिकता लिन खोजेको आरोपमा दुईजना पक्राउ परेका छन्। काठमाडौँ प्रहरी परिसरले ५१ वर्षका हरियोम गुप्ता भन्ने हरिओम कुमार, २० वर्षका ऋषि गुप्ता र १८ वर्षका हर्ष गुप्तालाई बुधवार पक्राउ गरेको हो।

उनीहरूले आफूसँगै व्यापार गरेर बसेका बुबालाई बेपत्ता भएको बनाएर भारतीय नागरिक भएको तथ्यलाई लुकाएर वंशजको नागरिकता लिने प्रयास गरेको प्रहरीको आरोप छ।

उनीहरूले झुटो विवरण दिएर वडा कार्यालयबाट सर्जमिन मुचुल्का सहित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा नागरिकता लिन सबै विवरण बुझाएका थिए।

उनीहरूले झुटो विवरण बुझाएको शङ्का लागेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीमा पठाएको थियो। परिसरले प्रारम्भिक अनुसन्धान गरेर भारतीय नागरिक हरियोम गुप्ता भन्ने हरिओम कुमार र निजका छोराहरू ऋषि र हर्षसमेतलाई पक्राउ गरेको हो।

उनीहरूमाथि नागरिकता ऐन अन्तर्गतको कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थ लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

जेठ ३०, २०८१ बुधबार २१:१८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।