श्रमाधान रोजगार मेला : जागिर खोज्ने र दिनेको उल्लेख्य भीड

श्रमाधान रोजगार मेला : जागिर खोज्ने र दिनेको उल्लेख्य भीड

काठमाडौं : ललितपुरमा भएको दुई दिने ‘श्रमाधान रोजगार मेला’ मा बुधबार बेरोजगार र रोजगारदाताको भीड लागेको छ। 

रोजगारदाता र कामदारहरूको सम्पर्क स्थापित गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बागमती प्रदेशस्तरीय रोजगार मेला आयोजना गरेको हो। मेलाको मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उद्घाटन गरेकी थिइन्। 

पाटन बहुमुखी क्याम्पसमा भएको मेलामा जागिर खोज्ने र दिनेहरूको भीड लागेको छ। मेलामा सरकारी र निजी गरी ८० भन्दा बढी क्षेत्रका रोजगार कक्ष राखिएका छन्। 

सातै प्रदेशमा सञ्चालन भएको मेला यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए। 

यस्तै, गण्डकीको पोखरामा, कर्णालीको सुर्खेतस्थित वीरेन्द्रनगर, सुदूरपश्चिमको धनगढी, लुम्बिनीको बुटवल अन्तर्राष्ट्रिय केन्द्र र मधेश प्रदेशको जनकपुरमा मेला गरिएको हो। ६ प्रदेशमा सम्पन्न भएपछि मेला ललितपुरमा सम्पन्न भएको छ। 

मेलाले रोजगारीको खोजीमा रहेका युवाका लागि निजी श्रेत्रसँग समन्वय गरेर रोजगारी प्रदान गर्ने, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोगबारे ज्ञान दिने लगायतका पक्षमा सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ। 

जेठ ३०, २०८१ बुधबार २१:००:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।