'अख्तियार, निर्वाचन आयोग, प्रहरीको सीआइबीले अनावश्यक दुःख दिइरहेका छन्'
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा अपराधिकरण बढेको बताएका छन्।
बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौं केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।
‘राजनीतिमा अपराधिकरण बढेको छ। सहकारी क्षेत्रमा मात्र होइन, अन्य क्षेत्र पनि अपराधिकरण छ। अनावश्यक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, प्रहरीको सीआइबीले दुःख दिने काम गरिरहेका छन्। दल फुटाउन सक्रिय छन्। यस्ता अपराधिकरण थुप्रै बढिरहेको छ,’ उनले भने।
डा. कोइरालाले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको उल्लेख गर्दै भने, ‘हामी विपक्षमा नै बस्ने हो। सरकारमा जाने कुनै सोच छैन। अन्य दलजस्तो हामीलाई हतारो छैन। आउने भए त्यसै आउँछ। कोसिस गरेर मरिहत्ते गरेर कांग्रेस सरकारमा जाँदैन।’
उनले राजनीति र सरकारको स्थिरता बिना आर्थिक विकास र सुशासन कायम नहुने भएकाले स्थिर सरकार बनाउन संविधान परिवर्तन गर्नुपर्नेमा जोड दिए। नेपाल दुई ठूला देशकोबीचमा वा जियोपोलिटिक्सको प्रभावमा रहेकाले स्थिर सरकार अत्यावश्यक भएको उनको भनाइ छ।
अर्को प्रसंगमा डा. कोइरालाले संसदबाट बाफिया ऐन आउन लाग्न लागेको उल्लेख गर्दै एउटै व्यक्ति बैंकर्स, वीमाको मालिक, व्यवसायी, उद्यमी हुन नसक्ने, लोकतान्त्रिक नहुने भएकाले यसलाई परिमार्जन गरेर जानुपर्ने औंल्याए।
जेठ ३०, २०८१ बुधबार २०:००:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।