सेयर बजारमा लगातार वृद्धि, कारोबार अझ बढ्यो

सेयर बजारमा लगातार वृद्धि, कारोबार अझ बढ्यो

काठमाडौं : सेयर बजारमा बढोत्तरीको क्रम बुधबार पनि निरन्तरता भएको छ। सेयर सूचकमा ६.३७ अंकले बढ्दै २१२१.६२ विन्दुमा रहँदा कारोबार रकमले अघिल्लो दिनलाई उछिनेको छ। 

१ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँमा किनबेच भएको छ। यसअघि मंगलबार सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ विन्दुमा पुग्दा १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएको थियो। 

बुधबार १३ मध्ये होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा र व्यापारबाहेक सबै उप-समूह बढेका छन्। फाइनान्स समूह सर्वाधिक १.०७ प्रतिशतले बढेको छ। 

११९ कम्पनीको सेयर मूल्य बढ्दा समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ। सहारा लघुवित्त र ग्रीनलाइफ हाइड्रोपावरको सेयरमा पनि सर्किटस्तरको बढोत्तरी छ।  

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर साताको चौथो दिन पनि पहिलो नम्बरमा छ। उक्त कम्पनीको सेयर २७ करोड ६३ लाख रुपैयाँको किनबेच भएको छ। 

यस्तै, सीइडीबी हाइड्रोपावरको २४ करोड ४८ लाख, ग्रीनलाइफ हाइड्रोपावरको १९ करोड ९५ लाख, माउन्टेन इनर्जीको १४ करोड ३० लाख र सोनापुर मिनरल्सको १४ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

११५ कम्पनीको सेयर मूल्य घट्दा सयपत्री हाइड्रोपावरका लगानीकर्ता ४.४८ प्रतिशत नोक्सानीमा छन्। १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। 

जेठ ३०, २०८१ बुधबार १५:३६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।