आनी बन्न काठमाडौँ आएकी फून्जो, जसले १४ घण्टा ३० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर राखिन् विश्व कीर्तिमान
जेठ १० गते बिहीबार, बिहानको ६ बजेर २३ मिनेट। फून्जो झाङ्ग्भु लामाले दोस्रो पटक सर्वोच्च शिखरमा श्रद्धाका साथ आफ्नो शिर निहुराइन्। अहिले सगरमाथाको क्याम्प–४ मा पुगेपछि चीनको समय देखाउने गरेको भन्दै आरोहीहरूले घडी नै लगाउन छोडिसके। अनि घडी हेर्दा ’आत्तिएला’ भनेर पनि खालि हात थिइन्, फून्जो।
६ वर्षपछि फेरी त्यही हिमालको टुप्पोमा रहिरहँदा गहभरि खुसीका आँसु बोकेर उनले संसारभरका मानिसहरूलाई एकैसाथ नमस्ते गरिन्। धन्यवाद दिइन्। तत्काल आफूलाई क्याम्प–४ (७ हजार ९५० मिटर) मा पर्खिरहेका गुरुलाई रेडियो मार्फत जानकारी दिइन्। उनी बेस क्याम्पबाट १४ घण्टा ३० मिनेटमा चुचुरो पुगेकी थिइन्। त्यस बेलासम्म आफू सबैभन्दा कम समयमा सगरमाथा चढ्ने महिला बनेको उनले थाहा पाएकी थिइनन्।
‘मेरो गुरुहरूलाई चुचुरोमा पुगेको जानकारी गराएँ। उहाँहरूले हामी पनि खुसी छौँ, तर, त्यहाँ खुसी भएर बसिराख्न पर्दैन। त्यो त तिमी आधा बाटोमा मात्र छौँ। तिमी सफल हुने भनेको सकुशल बेस क्याम्पमानै पुगे पछि मात्र हो। त्यहाँ पुगेपछि हामी साँच्चिकै खुसी मनाउँला भन्नुभयो' उनले फटाफट सगरमाथा चढेकै गतिमा सुनाइन्।
सगरमाथा चढ्दा जुन जोस हुन्छ, त्यो सबै फर्किने बेला घट्छ भन्ने गर्छन्। धेरै आरोहीहरूले ज्यान गुमाउने भनेको पनि त्यही फर्किने बेला नै रहेछ। फून्जो आफै 'गाइड’ भएकाले उनलाई यो थाहा छ।
करिब १५ मिनेट जति चुचुरोमा बसेर उनी सरासर फर्किइन्। क्याम्प–४ मा पुगेर आफ्नो गुरुलाई भेटिन्। उनलाई कुनै प्रकारको चोटपटक लागेको छ कि भनेर हेरियो।
'टेण्डी सरले त म कतिको बलियो छु भनेर अनुहारमा हेर्नुभयो। चिया र सुप खुवाउनुभयो। अनि शरीरमा चोटपटक छ कि भनेर सोध्नुभयो,’ खुसी हुँदै उने सुनाइन्, ’सक्छ भने मात्र बेस क्याम्पमा जानु। नत्र आराम गरेर क्याम्प –३ वा क्याम्प–२ मा एकछिन बस्नु भन्नुभएको थियो। तर मलाई त्यस्तो केही अप्ठ्यारो भएको थिएन। हिमालमा गएर के आराम गर्नु भनेर सुइँसुइँ बेसक्याम्प नै पुगेँ।’
चुचुरोबाट बेसक्याम्प सम्म उनी नौ घण्टा १८ मिनेटमा पुगिन्। हिमाल चढ्नु मात्र होइन फर्किनु पनि यो समय निकै कम हो। उनले जम्मा २४ घण्टा २६ मिनेटमा सगरमाथाको ओहोरदोहोर गरिन्। सन् २०१८ मा पनि सबै भन्दा छोटो समयमा आरोहण गर्ने महिला उनी नै बनेकी थिइन्। उनले त्यसबेला ३९ घण्टा ६ मिनेटको रेकर्ड राखेकी थिइन्। तर २०२१ मा उनको रेकर्ड तोड्दै हङ्कङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा आरोहण सम्पन्न गरेर रेकर्ड आफ्नो नाममा पारेकी थिइन्।
यस पटक आरोहण गर्नु भन्दा अघि आफूले १८ घण्टाको लक्ष्य राखेको भन्दै फून्जो भन्छिन्,'२०१८ मा पनि मैले २० देखि २२ घण्टाको लक्ष राखेको थिएँ। तर त्यसबेला अर्को गाइडको दुर्घटना भइदियो। त्यसले गर्दा मैले जुन रेकर्ड राख्छु भनेर गएको थिएँ, त्यो पाइन। त्यहिबेला देखि मैले दिमागमा आएको मात्र हो कि साँच्चिकै सक्छु ? भनेर आफ्नो लागि आफै उत्तर खोज्नु थियो। तर त्यो पनि आफैमा रेकर्ड भएको पछि थाहा भयो।’
सगरमाथा क्षेत्रमा भएको व्यापक आइसफलले बाटो लगभग एक घण्टा चालिस मिनेट लामो भएको उनी बताउँछिन्।आरोहीका लागि हिमालको सफल आरोहण गर्न जति महत्त्वपूर्ण हुन्छ, त्यति नै महत्त्व आफू सुरक्षित हुनु पनि हुन्छ नै। यस पटक फून्जो पहिलाको भन्दा अनुभवी त थिइन् नै, साथमा आफ्नै गुरुहरूको समूहमा पर्दा उनको मनोबल थप उच्च थियो।
'रोटेसन गर्दा १८ घण्टामा सक्छु भन्ने लागेको थियो। तर, त्यो भन्दा पनि चाँडो भयो,’ उनी मुस्कुराइन्।
बेस क्याम्पमा पुगेपछि भने पुरै समूहले नै फून्जोको लागि खुसी साटे।
अहिले संसारभरबाट उनले बधाईसँगै शुभकामना पाइरहेकी छिन्। केहीले भने'यति छिटै पनि चढ्न सकिन्छ ? कसरी ? कुदेर गयौँ कि क्या हो !’भनेर उनलाई सोध्ने रहेछन्।
'कहाँबाट कुद्न सक्नु। हिमालमा हिमालकै समय हुन्छ। यहाँ एउटाले गाडी छिटो कुदायो भने हामी आफ्नो गाडी पनि छिटो कुदाउन खोज्छौँ। त्यहाँ एकजना छिटो हिँडेको देखेर आफू पनि छिटो हिँड्नु भनेको आफूलाई नै जोखिममा पार्नु हो। आफ्नो शरीरले सक्नेसम्म मात्र गर्ने हो,’ उनले भनिन्।
६ वर्षमा बदलिएको हिमाल
२०१८ र २०२४ मा सगरमाथा आरोहण गर्दा उनले धेरै फरक देखिन्। जेठ २,३ गते देखि हिमाल चढ्न अफ सिजन हुने गर्छ। त्यसपछि चैँ त्यहाँका बरफहरू चिरा पर्न थाल्छन् अनि गर्मीले केही पग्लिन्छन् पनि।
तर यस पटक सिजनकै समयमा वैशाखको सुरुवातमै बरफहरू चिरा पर्न थालेको र टेन्टमा बस्दा समेत त्यही बेला बरफले ’चिरचिर’ आवाज निकालेको उनले अनुभव गरिन्। उनी फर्किने समयसम्म त बरफको खोला नै बगिरहेको देखिन्।
'क्ल्याईमेट चेन्ज भनेको के हो पढ्न त पाइएन। तर हिमालमा गयो भने त्यो मज्जाले महसुस गर्न पाइन्छ,’ उनले भनिन्।
केहीले त उनलाई हिमाल आरोहण गरेको कारण 'ग्लोबल वार्मिंग’ भएको भनेर आरोप समेत लगाएका रहेछन्।
उनले २०१८ मा सगरमाथामा एउटा मात्र पुरानो शव देखेकी रहिछिन्। तर यस पटक भने तीन-चार वटा शव देखिन् त्यहाँ।
चुम क्षेत्रको याक गोठाल्नी
गोरखाको दुर्गम क्षेत्र छेकम्पार बुर्जी गाउँ (चुम भ्याली) मा उनको बाल्यकाल बित्यो। उनको काम थियो याक गोठालो। उनको लागि काठमाडौँ आउनुभन्दा तिब्बत पुग्न नजिक थियो। तिब्बत पुगेर एक दिनमै फर्किन सकिन्थ्यो, काठमाडौँ पुग्न दुई हप्ता लाग्थ्यो।
उनी दुई वर्षको हुँदा नै उनको आमा बितिन्। अनि प्राय समय बाजेसँग बिताइन्। पहिला आफ्नो बाल्यकाल सम्झेर उनलाई निकै दुख लाग्थ्यो रे। तर अहिले भने चार हजार देखि ५५ सय मिटरसम्म याकलाई डुलाएर आफ्नो खुट्टा दरो भएको भन्ने लागेको रहेछ।
उनको बाजेले त्यस बखत ५५ वटा याक पालेका थिए। आमा नभएपछि त्यही याक हेर्न फून्जोलाई बाजेले लिएर गए। उनले औपचारिक शिक्षा पाइनन्।
'हिमाल कसरी चढ्ने, त्यो चढ्यो भने के हुन्छ भन्ने लाग्थ्यो। तर याकसँग हिँड्दाहिँड्दै मैले हिमाल चढ्न जानिसकेको रहेछु। कुन ठाउँमा कसरी खुट्टा टेक्ने भनेर सिकिसकेको रहेछु,’ उनले आफ्नो बाल्यकाल सम्झिइन्।
गोठमा याक बाहेक उनी र उनको बाजे मात्र हुन्थे। त्यै भएर आमा, आमाको माया, बाल्यकालको साथी सबै उनको लागि बाजे नै भए। वर्षभरी याक हेरेर चाडको समयमा मात्र उनी आफ्नो गाउँ जान्थिन्।
बोर्डरसँगै गाउँ भएकाले उनीहरूको व्यापार क्षेत्र उतै भयो। तिब्बतबाट नुन लिएर याक मार्फत तल झर्दै कोदो, चामल सँग साटेर उनीहरूको गुजारा चल्थ्यो। दूधजन्य खानाको लागि भने चौरी थियो। अहिले यी सब उनी आफैलाई कुनै कहानी जस्तै लाग्छ रे। तर बाजे नभएपछि उनीहरूले याक सबै बेचे। अहिले गाउँमा उनीहरूको एउटा पनि याक छैन।
आनी बन्न काठमाडौँमा
१३ वर्षको उमेरमा उनी १६ दिन हिँडेर चुमबाट काठमाडौँ आइन्। उनकी ठुली दिदी कपनको आनी गुम्बामा आनी भइसकेकी थिइन्। उनको दाइ भने गाउँमै पढ्दै थिए। गाउँमा सबै भन्दा पढेलेखेको भनेर उनकै दाइलाई चिनिन्थ्यो। फून्जोलाई समेत '१८ सय खोलाको इन्जिनियरको बहिनी’ भनेर चिनिन्थ्यो। उनको दाइ अहिले आर्किटेक्ट इन्जिनियर छन्।
‘म १३ वर्षको हुँदा बाजेले यो ठाउँमा जन्मियो, हुर्कियो राम्रो हो। तर अब तिमी यहाँबाट बाहिर जान पर्छ भन्नुभयो,’ बाजेलाई सम्झिँदै उनले भनिन्, 'मेरो बाजे नभएको भए त म आज फून्जोनै हुने थिइन। तर म सगरमाथा चढ्नु भन्दा अगाडि नै बाजे बित्नुभयो। मलाई बाजेको असाध्यै माया लाग् । उहाँलाई सम्झिरहेको हुन्छु।’
खुला आकाश मुनि, हिमालको वरपर कुदेर हिँड्ने उनलाई काठमाडौँ निकै ठुलो लाग्यो। स्कुल भित्र नछिरेको उनलाई यहाँ स्कुल जाने बेला अनेकौँ रङ्गको कपडा लगाएर हिँडेको देख्दा अचम्म लाग्यो।
आनी बन्नु भन्दा अगाडी उनले एक हप्ता दिदीको सबै क्रियाकलाप हेर्न भनिन्। बौद्धनाथ कहिले पनि गएकी थिइनन्। दिदीलाई जाऊँ भनिन्। तर दिदीले शनिवार जाने भन्ने जवाफ फर्काइन्।
‘गुम्बामा सब कुरा ठिक छ। तर मलाई त जबरजस्त बसेको जस्तो भयो। जे कुरा पनि गुम्बामा सोध्न पर्ने भयो नि त,’ उनी भन्छिन्, 'यता गाउँमा जता गए पनि आफ्नै ठाउँ थियो। कसैलाई पनि सोध्न नपर्ने। यता त बौद्ध जानलाई पनि शनिवार पर्खिनु पर्ने भयो। मैले कपाल पनि काटिसकेको थिइन। अनि यस्तो त हुँदैन। म आनी नबन्ने भनेर दाइलाई भने।’
उनी आफ्नै भाषामा बोल्थिन्। नेपाली सिक्न उनलाई दाइले विश्व भाषामा र अङ्ग्रेजी सिक्न ब्रिटिस काउन्सिलमा भर्ना गराइदिए। अङ्ग्रेजी भन्दा उनलाई नेपाली सिक्न गाह्रो भयो रे। उनले जति पनि नेपाली सिकिन् त्यो कक्षा कोठामा सिकेको भन्दा साथीहरू सँग कुरा गरेर सिकेको भन्ने गर्छिन्।
‘गाउँमा आफ्नै भाषा बोलेको। यहाँ आएर अर्को भाषा बोल्न पर्छ भन्ने पनि थाहा भएन। विश्व भाषामा पढेको चार-पाँच महिनापछि सरले तपाई, तिमि, हजुर, त जे भन्दा पनि हुन्छ भनेका थिए। अनि मैले त्यसो भएर सर अनि तैँले जतिखेर पनि सबै एउटा भनेर कहाँ हुन्छ भनेँ । सर एकदम हाँस्नुभयो। पछि त तिमिसम्म ठिक छ, तँ चैँ भन्दै नभन्नु है भनेको थियो,’ यति भन्दै गर्दा उनी खित्का छोडेर हाँसिन्।
विश्व भाषामा एक वर्ष पढेपछि उनी नजिकैको स्कुलमा एक कक्षामा भर्ना भइन्। १४ वर्षकी उनलाई एक कक्षाको बालबालिका हल्ला गरेको देखेर दिक्क लाग्थ्यो रे।
'ओहो काठमाडौँको बच्चा कस्तो हल्ला गर्ने, मलाई त कुटुमकुटुम लाग्थ्यो,’ उनले भनिन्। त्यसपछि उनले पढिनन्।
कार्यक्रमको लागि दाइ अमेरिका जाँदै थिए। फून्जो पनि साथमा गइन्। पाँच वर्ष उनी त्यतै बसिन्। अमेरिकामैहुँदा उनले पहिलो पटक नर्थ अमेरिकाको देनाली हिमाल चढिन्। यो पनि ६ हजार १९० मिटरको छ।
हेलिकप्टर उद्धारकर्ता
उनी नेपाल आउने-जाने गरिरहिन्। त्यहिबेला गाउँमा छिमेकी नराम्रोसँग बिरामी हुँदा हेलिकप्टर बोलाइएको रहेछ। उनको दाइ चुममा र उनी भने काठमाडौँमा बसेर त्यसबेला हेलिकप्टरको सहजकर्ता भइरहेका थिए। तर गाउँमा हेलिकप्टर ढिला पुग्यो। मान्छे पनि रहेन, अनि पैसा पनि तिर्न पर्यो भनेर उनलाई निकै रिस उठेछ।
त्यही बेला उनको एकजना पाइलट साथीसँग चिनजान भयो। उनको ती साथी पनि प्लेन दुर्घटनामा पछि बिते। परिवारसँग भने अझै पनि सम्पर्कमा छिन्।
'मेरो एकदम मिल्ने साथी थियो। उसले मलाई भोटे भन्थ्यो। उसैले हेलिकप्टर उद्धारकर्ताको काम गर्ने भनेपछि म हौसिएर तयार भएँ,’ उनले सुनाउँदै गइन्, 'त्यसबेला अरूले पनि केटी भएर यस्तो काम गर्न सक्दैन। गाह्रो हुन्छ भन्थे। म जसरी पनि गर्छु, यहाँ नभए अर्को ठाउँबाट गर्छु भनेर आँटे।’
स्विजरल्याण्डका नागरिकहरूले तालिम स्पोन्सर गरेका थिए। उनी पनि स्विजरल्याण्ड गए। उनलाई त्यसबेला यही कामलाई निरन्तरता दिन्छु भन्ने सोचिन्। तर उद्धार भनेको जोखिमको समयमा मात्र हुने हो। यही गरेर गुजारा गर्नु भनेको सधैँ जोखिम भओस् भन्ने कुरा पनि भएन।
'हामी त आफै पनि बुद्धिस्ट। अझ गाउँ पनि अहिंसा भएको ठाउँ हो। जोखिम भओस्, अनि उद्धार गर्न जाउँला भन्दा आफैलाई राम्रो लागेन। तालिमकै बेला सबै आरोहीहरू नै थिए। त्यही बेला फून्जो तिमीले पनि सक्छौँ, तिमी बलियो छौँ। अब सगरमाथा चढ्नु पर्छ, गाइड बन्नुपर्छ भन्ने याद आयो,’ उनले भनिन् ।
तालिमकै बेलामा पनि उनको पहिलो प्रतिक्रिया भनेको ’हिमाल चढेर कति पैसा कमाउँछ’ भन्ने थियो। अनि उनी उद्धारमा नलागेर गाइडतर्फ अगाडि बढिन्।
सन् २०१५ उनको जिन्दगीकै परिवर्तनको बिन्दु बन्न पुग्यो।
बाध्यताले अक्सिजनबिना एक्लै चोयुमा
पर्वतारोहण निकै महँगो छ। धेरैले स्पोन्सर खोजेर चढ्ने गर्छन्। फून्जो नयाँ भएकाले स्पोन्सर पाउन गाह्रो हुन्थ्यो। अनि अक्सिजन सबै भन्दा महँगो पनि हुन्थ्यो। त्यै भएर उनी बिना अक्सिजन हिमाल चढिन्।
'मेरो रहर भन्दा पनि बाध्यता हो। त्यो भन्दा अगाडि पनि अक्सिजन त प्रयोग गरेको थिइन। अक्सिजन लगाएर के हुन्छ, नलगाएर के हुन्छ भन्ने पनि थाहा थिएन,’ हिमाल चढ्दाको सुरुवाती दिन सम्झिँदै उनले भनिन्, 'मलाई चुचुरोमै पुग्छु भन्ने पनि थिएन। जतिसम्म जान सकिन्छ जान्छु। नत्र फर्केर आउँछु भनेर चढेको थिएँ। सफल पनि भयो।’
उनी लामो समय ’फ्रीलांसर’ भएर पनि काम गरिन्। दुई वर्षदेखि उनी त्याग नेपाल नामको ट्रेकिङ कम्पनीमा गाइडको रूपमा कार्यरत छिन्। लगभग पचास जना पुरुष गाइड भएकोमा कम्पनीमा उनी मात्र महिला गाइड हुन्। महिलालाई गाइड नलिने भन्ने सुन्दै आएकी उनी अहिले 'महिला गाइड नै चाहिन्छ’ भनेको सुन्दा निकै खुसी छिन्।
उनी अफ सिजनमा देश तथा विदेशमा गएर पर्यटकलाई पर्वतारोहण गर्न बोलाउँछिन्। अनि सिजनको समयमा त्यही पर्यटकहरूलाई लगेर घुमाउन जान्छिन्।
विदेशीले भन्दा स्वदेशी पर्यटकहरूले खुलेर खर्च गरेको देखेकी उनले स्वदेशी पर्यटकलाई पनि प्राथमिकता दिने गरेकी छिन्।
अहिले उनी आफ्नो छोरीसँग काठमाडौँमा बस्ने गर्छिन्। आठ वर्ष देखि उनी एक्लो अभिभावक भएर छोरीलाई पढाइरहेकी छिन्।
'सानो बेलामा धेरै दुख पाएर होला सानोतिनो दुख त दुख नै लाग्दैन। यो मैले छानेको काम हो। दुख भए पनि मलाई रमाइलो लाग्छ। मेरो छोरी पनि खुसी छ। म पनि खुसी छु। अरू मलाई के नै चाहियो र!’ खुसी हुँदै उनले भनिन्।
जेठ ३०, २०८१ बुधबार १५:२४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।