जसपा नेपाल महाधिवेशन : अध्यक्षमा उपेन्द्र यादवको विकल्प भेटिएन, अन्य पदका लागि चुनाव हुँदै

जसपा नेपाल महाधिवेशन : अध्यक्षमा उपेन्द्र यादवको विकल्प भेटिएन, अन्य पदका लागि चुनाव हुँदै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्। जनकपुरधाममा चलिरहेको महाधिवेशनबाट यादव निर्विरोध बनेका हुन्। 

निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो। जसमा अध्यक्ष पदको लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।

अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन। मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा महाधिवेशन जारी छ।

पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन्। 

पार्टीको स्थापना कालदेखि नै जसपा नेपालभित्र यादवको विकल्प भेटिएको छैन। तर, यस महाधिवेशनबाट अध्यक्षबाहेक भने अन्य पदमा निर्वाचन हुन लागेको जनाइएको छ। 

निर्वाचन समितिका अनुसार सह-अध्यक्षमा राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङको उम्मेदवारी परेको छ भने महासचिवमा मनिष सुमन, रामकुमार शर्मा, दीपक कार्की र विजय यादवले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, उपाध्यक्षमा खालिद सिद्धिकी र प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीको विधान अनुसार निर्वाचनबाट सह-अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चयन गरिने छ। २० जना केन्द्रीय पदाधिकारी रहने जसपा नेपालको केन्द्रीय समिति २०१ सदस्यीय चयन हुनेछ।

निर्वाचनका अन्य प्रक्रिया पूरा गरी अपराह्न ४ बजेदेखि बेलुकी ८ बजेसम्म मतदानका लागि समय तोकिएको छ। 

जेठ ३०, २०८१ बुधबार १४:२६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।