वीरगञ्जका विभिन्न गोदाममा सशस्त्र प्रहरीको छापा, ४४ लाख बढीको अवैध सामान बरामद

वीरगञ्जका विभिन्न गोदाममा सशस्त्र प्रहरीको छापा, ४४ लाख बढीको अवैध सामान बरामद

वीरगञ्ज : सशस्त्र प्रहरी बलले पर्सास्थित वीरगञ्ज महानगरपालिका–१९ बर्वा लगायत विभिन्न ठाउँका गोदाममा छापा मारेको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले वीररगञ्ज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितिमा अवैध रुपले राखिएको गोदाममा छापा मारेर ४४ लाख बढिको अवैध सामान नियन्त्रणमा लिएको छ।

प्रहरीले १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्राण्डको क्रिम, सोही ब्राण्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको क्रिम रहेको छ।

यस्तै मानिस कोही नबस्ने सोही महानगरपालिकाको अर्को एक ठाउँबाट एक घरमा अवैध रूपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको छ।

यसैगरी मंगलबार राती नै सोही गुल्मले वीरगंज महानगरपालिका-१० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्ट्स र १० लाख ७५ हजार मुल्य बराबरको किराना सामान समेत बरामद गरेको छ।

बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

यसैबीच पछिल्लो एक हप्ताको बिचमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले करिब ३ करोड मूल्य बराबरको अबैध सामान बरामद गरी आवश्यक कारबाहिको लागि सम्बन्धित निकायमा बुझाएको छ।

जेठ ३०, २०८१ बुधबार १३:५७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।