गाजामा युद्धविराम गर्ने प्रस्तावमा हमासले दियो यस्तो प्रतिक्रिया

गाजामा युद्धविराम गर्ने प्रस्तावमा हमासले दियो यस्तो प्रतिक्रिया

एजेन्सी : अमेरिकाले समर्थन गरेको गाजामा युद्धविराम गर्ने प्रस्तावबारे हमासले प्रतिक्रिया दिएको छ। हमासले यो युद्धविराम स्थायी बनाउनका लागि इजरायलको प्रतिबद्धता चाहेको बीबीसीले जनाएको छ।

एक विज्ञप्तिमा, हमास र यसको सहयोगी प्यालेस्टाइन इस्लामिक जिहादले सम्झौताको प्रस्तावलाई सकारात्मक रूपमा हेरेको उल्लेख गरेको छ।

यो प्रस्तावलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले पनि समर्थन गरेको छ। जसमा सुरुमा ६ साता युद्धविराम हुने र दोस्रो चरणमा यो युद्धविरामलाई स्थायी बनाइने बताइएको छ। यसबाहेक गाजामा निर्माण कार्य पुनः सुरु गर्ने कुरा पनि भएको छ।

अमेरिकासँगै हमास र इजरायलबीच मध्यस्थता गरिरहेका कतार र इजिप्टले पनि हमासले यस प्रस्तावको विषयमा आफ्नो प्रतिक्रिया दिएको बताएका छन्। मंगलबार साँझ एक विज्ञप्तिमा हमासले गाजामा युद्ध ‘पूर्ण रूपमा रोक्न’ आह्वान गरेको छ।

हमास र पीआईजेले भनेका छन्, ‘यो प्रतिक्रियाले हाम्रा प्यालेस्टिनी जनताको हितलाई प्राथमिकता दिन्छ र हामी गाजामा जारी आक्रमणलाई पूर्ण रूपमा रोक्न जोड दिन्छौं।’

दुवै समूहले युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न सकारात्मक रूपमा वार्ता गर्न तयार भएको बताएका छन्। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले हमासले दिएको प्रतिक्रियाको मूल्याङ्कन गरिरहेको बताए।
 

जेठ ३०, २०८१ बुधबार १०:०५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।