इन्जुरी समयमा गोल खाँदा विश्वकप छनोटमा नेपाल र यमन बराबरी

इन्जुरी समयमा गोल खाँदा विश्वकप छनोटमा नेपाल र यमन बराबरी

काठमाडौं : इन्जुरी समयको पहिलो मिनेटमा अग्रता जोगाउन नसक्दा फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा मंगलबार नेपालले यमनसँग बराबरी खेलेको छ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो।

नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १-१ गोल गरे। दुवै खेलाडीका लागि आजको गोल अन्तराष्ट्रिय करियरको पहिलो गोल हो।

नवौं मिनेटमा पेनाल्टी मार्फत नेपालले गोल खान पुगेको थियो। बक्सभित्र मनिष डाँगीले रमी अल-वासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल-गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए।

त्यसपछि नेपालले खेलको २३औं मिनेटमा बराबरी गोल गरेको हो। एक गोलले पछि परेको अवस्थामा डिफेन्डरले किपरका लागि खेलेको ब्याकपासमा बल भेटाउँदै सञ्जीवले बक्स भित्रबाट खेलमा बराबरी गोल गरेका थिए।

६६औं मिनेटमा नेपालले खेलमा अग्रता लियो। छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो।

तर, इन्ज्युरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल-दाहीको गोल मार्फत बराबरी गर्दै एक अंक लिन सफल भएको हो। नेपालले यस खेल अघि कुनै पनि गोल नगर्दा ५ खेलमा १८ गोल खान पुगेको थियो।

नेपाल रहेको समूह ‘एच’बाट युएई र बहराइन छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन्। तेस्रो भएको यमन र चौथो नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्नेछन्।

जेठ ३०, २०८१ बुधबार ०७:२३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।