राजेश हमालको अनुहार राख्दा पनि हेरिएन रियालिटी शो, हमाल नै बिक्न छाडेका त हैनन् ?

राजेश हमालको अनुहार राख्दा पनि हेरिएन रियालिटी शो, हमाल नै बिक्न छाडेका त हैनन् ?

काठमाडौं : पछिल्लो समय नेपालमा रियालिटी शोहरू च्याउसरी बनिरहेका छन्। विभिन्न क्षेत्रमा एकपछि अर्को गर्दै बनिरहेका ती शोहरूले आफूलाई बिकाउन कुनै कसरत बाँकी छाडेका छैनन्। त्यसको लागि नामी कलाकारलाई होस्ट राख्ने, मोटो रकम खन्याएर शुटिङ गर्ने, महँगो विज्ञापन गर्ने गरेको पाइन्छ। 

त्यसै क्रममा पछिल्लो समय एउटा रियालिटी शो चलिरहेको छ- सफलताको कथा। त्यसमा प्रस्तोता छन् अभिनेता राजेश हमाल। तर, पनि त्यस रियालिटी शोलाई युट्युबमा दर्शकले उस्तोधेरै मन पराएको देखिंदैन। 

राजेशको अनुहार बिक्नै छोडेको हो?
कुनै समय एउटा फिल्ममा उनको हे भन्ने दृश्य मात्रै राख्दा पनि बिक्ने अभिनेता राजेश हमाल रियालिटी शोमा समेत बिक्न छोडेको जस्तो देखिन्छ। उनले अभिनय गरेको पछिल्लो फिल्म ‘सकुन्तला’ले फ्लप हिरोको ट्याक भिरेका हमाल बेला बेलामा विभिन्न रियालिटी शो कार्यक्रम चलाउँदै आएका छन्। 

भारतीय अभिनेता अमिता बच्चनकै शैलीमा ‘को बन्छ करोडपति’चलाएका हमाल पछिल्लो समय ‘सफलताको कथा’मा आबद्ध छन्। यस रियालिटी शोमा उनी धनाढ्य व्यक्तित्वहरुसँगको कुराकानी गर्छन्। को कसरी सफल भयो भन्ने विषयमा रहेको कुराकानीमा उनी आफै असफल भइएको देखिन्छ। 

एक महिनादेखि सफलताको कथा नामक रियालिटी शो चलाइरहेका उनको भिडियो हेर्ने दर्शक युट्युबमा सामान्य छ। दुई दिनअघि उनले चन्दन शाहसँग गरेको कुराकानीलाई ओएसआरको रियालिटी शो युट्युब च्यानलमा ४१ सय  दर्शकले हेरेका छन्। 

उनको पहिलो एपिसोड १८ हजार हाराहारी भ्युज छ। उनले पहिलो अन्तवार्ता धुर्व वन्तसँग गरेका छन्। उनको पहिलो एपिसोडबाट नै हमालले दर्शकको खडेरी भोगेको देखियो। 

महानायकको अवस्था हलमा मात्र होइन युट्युबमा समेत खडेरी देखियो। यस्तै पारा हो भने फिल्म र अन्तवार्ताको कार्यक्रम छाडेर उही व्यवसायीको रिबन काट्दै पो फाइदा देखियो र राजेश हमालज्यू!

जेठ २९, २०८१ मंगलबार १७:५४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।