‘लन्डन टु पेरिस’ : यो भन्दा पनि झुर फिल्म बन्ला त नेपालमा !

‘लन्डन टु पेरिस’ : यो भन्दा पनि झुर फिल्म बन्ला त नेपालमा !

नेपाली फिल्मका निर्माता अनि निर्देशकले फिल्म निर्माणको कामलाई कतिसम्म खेलाँची सम्झन्छन् अनि स्क्रिप्ट र आफ्नो चरित्रमा कलाकारहरू कतिसम्म हुस्सु हुन सक्छन् भन्ने ज्वलन्त उदाहरण बनेर हलमा रिलिज भएको छ फिल्म ‘लन्डन टु पेरिस’।

सम्बन्धमा आधारित कथामा फिल्म बनाउने प्रयास गरेका निर्देशकका नजरमा सम्बन्ध वरपर घुम्ने भनेको रक्सी, सेक्स मात्रै हो भन्ने गलत तथ्यले बास गरेको देखिन्छ। संवाद भनेको के हो अनि कसरी बोल्नुपर्छ, के-के कुरामा जोगिनु पर्छ भनेर सचेत हुने हो भने सिकारु कलाकारहरूले यो फिल्म हेर्दा हुन्छ।

विकसित देशमा खिचेकै भरमा फिल्म गतिलो बन्दैन। फिल्म गतिलो बन्न गतिलो कथा, कसिलो पटकथा, पात्रको चरित्रचित्रण अनि प्रस्ट संवाद बोल्न जान्ने कलाकार चाहिन्छ भन्ने यसका निर्देशक घनश्याम लामिछानेलाई सामान्य ज्ञान समेत भएको देखिएन।

लोकेसनहरू हेर्दा फिल्म निर्माणमा राम्रै खर्च भएको देखिन्छ। तर जसले लगानी गरे ती मुर्गा समान भए। कहिलेकाहीँ गतिलो फिल्म बन्दा पनि दर्शकको साथ पाउन सकिन्न। यो त फिल्मै यति झुर छ कसरी दर्शकको साथ पाउनु !

गरिमा शर्माका लागि यो डेब्यु फिल्म हो। पहिलो फिल्ममा उनको अभिनय निकै फितलो छ। डेब्यु फिल्म हो भनेर उनले एक्सक्युज पाउने सम्भावना हुन्छ नै। तर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दा आशा जगाएकी अभिनेत्री साम्राज्ञी आरएल शाहको यो डेब्यु फिल्म हैन। टन्नै फिल्ममा अभिनय गरेकी उनको करिअरमा यो भन्दा पनि झुर फिल्म पक्कै नपर्ला।

प्रेम अनि धोका फिल्मको कथासार यही नै हो। त्यति धेरै उल्लेख गरिरहनु पर्ने पक्ष नै छैन कथामा। लन्डनमा भएका युवा युवतीबीच प्रेम हुन्छ, बिछोड हुन्छ, अर्कोलाई मन पराउँछन्। अनि त्यो प्रेम सफल हुन्छ या हुन्न यही नै कथाको सस्पेन्स हो।

फिल्मको अलि गतिलो पक्ष गीत अनि त्यसको छायाँकनस्थल मात्रै हो। फिल्ममा समावेश गीत ‘खुल्ला आकाश’ को छायाँकन दृश्य राम्रो देखिएको छ।

प्रदीप भारद्वाजले लेखेको फिल्मको कथा चौपट छ। पहिलो हाफबाटै हलमा मुस्किलले पुगेका दर्शक ह्या... भन्दै बाहिरिन्छन्। कलाकारले बोलेको लिप्सिङ समेत मिलेको छैन।

फिल्मको सिनेमाटोग्राफी गतिलो देखिएन। कथा अनुसार फिल्मको पात्र चयन ठिकै देखिन्छ। मोड्रन चरित्र साम्राज्ञीका लागि सुहाउँदै क्यारेक्टर हो। तर कस्तो अभिनय गराउने त्यो निर्देशकमा भर पर्छ।

यो फिल्ममा साम्राज्ञीको जति कमजोर अभिनय देखिएको छ उनको अभिनय क्षमता त्यति कमजोर हैन है भन्ने उनले यस अगाडिका फिल्मबाट पुष्टि गरिसकेकी छिन्।

कबिर खड्का पनि अभिनयमा नयाँ हैनन्। तर यसमा उनी पनि सिकारु कलाकार जस्तै देखिएका छन्। उनको अभिनयमा दम छैन। अन्य कलाकारको तुलनामा यही फिल्मबाट डेब्यु गरेका निश्चल खड्काको प्रयास सकारात्मक देखिन्छ।

टिकटक तथा म्युजिक भिडियो हुँदै यही फिल्मबाट डेब्यु गरेकी गरिमा शर्माले फिल्ममा अभिनय गर्न हतार गरेको देखियो। म्युजिक भिडियोको अभिनयले मात्र फिल्ममा अभिनय गर्न सकिन्न, म्युजिक भिडियोहुँदै फिल्ममा आउन चाहनेले थप एक्टिङ कोर्स गर्नैपर्छ भन्ने उनकै अभिनय उदाहरण बन्यो।

फरक-फरक ब्याकग्राउन्ड म्युजिकको प्रयोगले फिल्मलाई थप कमजोर बनाउन सहयोगै गरेको छ। समग्र फिल्मको गुणस्तर हेर्दा’ फिल्म बनाइहालौँ न त’ भनेर सुरु भएको र त्यसै अनुसार काम भएको देखियो।

न फिल्म निर्देशनमा निर्देशकमा गम्भीरता देखियो न त कलाकारहरूमा नै फिल्म रिलिजपछि आफ्नो करिअरमा के प्रभाव पर्ला भन्ने चेतै देखियो। निर्माण टिमको हेलचेक्र्याइँ फिल्म बिर्सिँदै उत्तम हुने सूचीमा पर्न सफल भयो।

जेठ २९, २०८१ मंगलबार १७:५२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।