पश्चिम तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन
काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेको छ। महाशाखाले तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन निकालेको हो।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको महाशाखाले जनाएको छ।
जेठ ३१ गतेसम्म देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन र त्यसबाट बच्न महाशाखाले अनुरोध गरेको छ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ।
यसबाट बच्नका लागि चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक-पटक पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाको अनुरोध छ।
जेठ २९, २०८१ मंगलबार १२:०१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।