प्रतिश जिसीकी आमाको प्रश्न- स्पिनरको सब्सिच्यूट बायाँहाते मिडियम फास्ट बलर कसरी हुन्छ?

प्रतिश जिसीकी आमाको प्रश्न- स्पिनरको सब्सिच्यूट बायाँहाते मिडियम फास्ट बलर कसरी हुन्छ?

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका सदस्य प्रतिश जिसीका आमा प्रतिभा जिसीले नेपाल क्रिकेट संघको निर्णयप्रति आश्चर्य व्यक्त गरेकी छन्।

नेपाल क्रिकेट संघ क्यानले सोमबार बलात्कार अभियोगमा उच्च अदालतबाट सफाइ पाएका दायाँ हाते लेग स्पिनर सन्दीप लामिछानेलाई टोलीमा समेट्न बायाँहाते मिडियम फास्ट बलर प्रतिश जिसीलाई मुख्य स्क्वायडबाट ट्राभलिङ रिजर्भमा राखेको थियो।

प्रतिशकी आमा प्रतिभाले दायाँहाते स्पिनरले बायाँहाते मिडियम फास्ट बलरको स्थान कसरी लिनसक्छ भन्दै आश्चर्य व्यक्त गरेकी हुन्।

उनले भनेकी छन्, ‘मैले नबुझेको पनि हुनसक्छु, मनमा लागेको कुरा चाहिँ स्पिनरको सब्स्टिच्यूड बायाँहाते मिडियम फास्ट बलर कसरी हुन्छ? त्यो चाहिँ बुझ्न सकिनँ।’

यद्यपि उनले सन्दीप टिममा आउँदा खुसी भएको बताउँदै कसैको छोराले भन्दा पनि देशको जित्नु ठूलो कुरा रहेको बताइन्।

‘यहाँ मेरो छोरो, तेरो छोरो भन्दा पनि सबै खेलाडीहरू हाम्रै छोरा हुन्, यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ। जुन खेलाडी टिममा भए पनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्छ। हामी देशले जितेको हेर्न चाहन्छौँ।’

यसको स्पष्टिकरण क्यानको छनोटकर्ताले अहिलेसम्म दिएका छैनन्। प्रतिभाले उठाएको विषय जायज भएको क्रिकेट बुझेकाहरू बताउँछन्।

सन्दीपलाई टिममा सहभागी हुनका लागि सोमबार नै वेस्ट इन्डिज पुगिसकेका छन्। दुई पटकको प्रयासमा पनि अमेरिकाको भिसा पाउन नसकेपछि उनलाई क्यानले वेस्ट इन्डिजमा हुने समूह चरणका अन्तिम दुई खेलमा सहभागी गराउन त्यता पठाएको थियो।

जेठ २९, २०८१ मंगलबार ११:५०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।