मलेसियाको फर्निचर र तेल कम्पनी छोडेर सुर्खेतको खेतमा रमेका वली परिवार, आम्दानी १५ देखि २० लाख

मलेसियाको फर्निचर र तेल कम्पनी छोडेर सुर्खेतको खेतमा रमेका वली परिवार, आम्दानी १५ देखि २० लाख

सुर्खेत : जेठको महिनाको तपतपी पसिना चुहिने गर्मी। बारीभरी तरकारी र गोठभरी गाईभैंसी। एक मिनेट पनि हात खाली छैन गुर्भाकोट नगरपालिका-१३ गुमीका ३२ वर्षीय गोविन्द वली परिवारको।

वली परिवार परम्परागत कृषि छोडेर आधुनिक कृषिमा जमेको छ। उनको खेतबारीमा अहिले काँक्रा, मकै, चैते धान, काउली, खुर्सानी टमाटर, करेला, घिरौंला र बोडी लटरम्मै छ।

गोठमा दुईवटा उन्नत जातका गाई र पाँच ओटा दुहुना भैंसी छन्। गाई भैँसीलाई खुवाउने घाँस पनि बारीमै छ। बजारको मागअनुरुप गोविन्दले तरकारी र दूध पुर्याउन सकेका छैनन्। अर्गानिक तरकारी उत्पादन गरेका उनका ग्राहक घरमै तरकारी र दूध लिन आउँछन्।

२०७९ सालमा गोविन्द वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। दुई पटक गरेर चार वर्ष मलेसियाको फर्निचर कम्पनीमा काम गर्दा महिनामा ४२ हजार रुपैयाँ कमाउँथे। जेठा दाइ ३५ वर्षीय बीरबहादुरले पाँच वर्ष मलेसियाकै तेल कम्पनीमा काम गरे भने ५३ वर्षीय बुवा दलबहादुरले तीन वर्ष दुबईको पाइप कम्पनीमा खटे।

गोविन्दले बुवा र दाइलाई पनि स्वदेशमै राखेर आफ्नै गाउँमा कृषि गर्ने सोच बनाएर मलेसियाबाट फर्किए। कृषिका लागि उनीसँग पर्याप्त जमिन थिएन। मलेसिया र दुबईबाट कमाएको पैसाले उनीहरूले साढे दुई बिगाह जमिन किने।

२०७२ सालमा गोविन्दले ‘दाजुभाइ कृषि तथा पशुपंक्षी फर्म’ खोलेर मौसमी तथा बेमौसमी तरकारी र फलफूल उत्पादनमा तम्सिए। बुवा र दाइलाई पनि विदेशबाट गाउँ फर्काए। उनीहरूले विदेशमा गर्ने परिश्रम र मेहनत बारीमा बगाए। पाँच लाख रुपैयाँको लगानीमा भैँसीपालन थाले।

‘घरको आर्थिक अवस्था कमजोर थियो। खेतिपाती गर्ने जमिन थिएन। विदेशिनुपर्ने बाध्यता भयो। पछि बुवा, म र दाइले कमाएको पैसाले यहाँ जमिन लियौं,’ उनले भने, ‘त्यसपछि भैंसीपालन र तरकारी खेतीमा जुटेका छौँ।’

गोविन्दका एक छोरा ९ कक्षामा पढ्छन्, छोरी आठमा। छोराछोरीलाई कृषि जेटिए र भेटेनरी जेटिए पढाउने सोच छ उनको। तीन बिगाह जमिनमा तरकारी खेती र घाँस उत्पादन गरिएको छ। सबैले मिलिजुली काम गर्दा दाइभाउजुका तीन छोराछोरी र आमाबुवासहितको ११ जनाको परिवार राम्रैसँग चलिरहेको छ।

गोविन्दकी आमाले पहिलेदेखि नै दुईवटा भैंसी पालिरहेकी थिइन्। पहिला भैंसी पालन मात्रै गर्दा दूध राम्रै भए पनि आम्दानी हुन सकेको थिएन। तर, त्यहि गोबरलाई उपयोग गर्न आधुनिक तरिकाले तरकारी खेती गरिएको उनको भनाइ छ। संयुक्त परिवार भएका कारण अहिलेसम्म उनको फर्मममा कामदार राख्नुपरेको छैन।

‘आमाबुवासहित सात जनाको परिवार छ। सबै जना कृषिमै सक्रिय छौँ। चार जना त निरन्तर बारीमै हुनुहुन्छ। म कामसँगै कृषिका तालिम र कार्यक्रममा पनि उपस्थित हुन्छु,’ उनले भने, ‘स्थानीय बजारमा तरकारी समेत पुर्याउँछु। बुवाले गाइभैँसीको रेखदेख गर्नुहुन्छ। दाइ, भाउजु, आमा र श्रीमतीले तरकारीको काम गर्नुहुन्छ। छोराछोरी पनि फुर्सदको समयमा बारीमा काम गर्छन्।’

तरकारीमा गोविन्दले किटनासक विषादी प्रयोग गर्दैनन्। गाईभैंसी र कुखुराको मलमुत्र मात्रै मौसमी र बेमौसमी तरकारीमा प्रयोग गर्छन्। जसबाट उनले उत्पादन राम्रो हुँदै गएको छ। गोविन्दले दैनिक ३५ लिटर दूध बेच्छन्, जसबाट मासिक ६५ हजार रुपैयाँ आम्दानी हुनेगर्छ।

‘भैंसीले सधैँ एकै नासको दूध त हुँदैन। त्यहि यसको पनि मौसम र बेमौसम हुन्छ,’ उनले भने, ‘तर महिनामा ५० हजारदेखि ६५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ।’

गोविन्दको परिवारले एक सिजनमा ६ देखि सात लाख रुपैयाँसम्म कमाइ हुने गरेको छ। एक सिजन चार महिनाको हुन्छ। यस हिसाबले उनको वार्षिक आम्दानी १५ देखि २० लाख रुपैयाँसम्म हुने गरेको छ।

कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयको ५० प्रतिशत लगानी र आफ्नो ५० प्रतिशत लगानीमा उनले तरकारी र पशुपालन गरिरहेका छन्। निर्देशनालयबाट पानी सिंचाइको लागि मोटर, पाइप, तरकारीको लागि टनेल, खेत जोत्नका लागि मिनि टेलर अनुदान पाएका छन्।

सहकारीबाट केहि सहुलितमा ऋण लिएको र गुर्भाकोट नगरपालिकाले तरकारीको बिउ दिएर सहयोग गर्ने गरेको उनले बताए। गोविन्दले तरकारी बारीमै लिन आउनेलाई होलसेल रेटमा दिने गरेको र घरमै पुर्याउँदा ५ देखि १० रुपैयाँ बढी लिएर बेच्ने गरेका छन्।

गोविन्दलाई पानीको अभाव छ। उनले बारीकै पुच्छारमा रहेको मुलमा ड्याम बनाएर मोटर मार्फत सिंचाइ गर्छन्। त्यसबाहेक गाउँमा रहेको कुलोको पानी पनि प्रयोग गर्छन्। तर, तीन बिगाहा जमिनमा उनलाई सिंचाइ गर्न यो पानी मात्रै प्रयाप्त छैन। आकाशे पानीको पनि भर पर्नुपर्ने हुन्छ। समयमा वर्षा नहुँदा त्यसको समस्या पनि उनले भोग्दै आएका छन्।

‘पानी पर्याप्त छैन। भोल्टेज कम भएका कारण मोटर चल्दैन। कुलोको पानीले पालो पुग्दैन। रातको समयमा तरकारीमा सिंचाइ गर्दा समस्या हुने गरेको छ,’ गोविन्दले भने।

पानीको पहुँचलाई बढाएर अहिले स्थानीय बजारमा मात्रै खपत हुने तरकारी र दूधलाई गोविन्दले कर्णालीभर र अन्य प्रदेशमा समेत निर्यात गर्ने योजना बनाएका छन्।

‘अहिले हामीले उत्पादन गरेको तरकारी यहाँको स्थानीय बजारमा मात्रै खपत भएको छ। पानीको पहुँच बढाएर कर्णाली र अन्य प्रदेशमा पुर्याउने गरी हामीले तयारी थालेका छौं,’ उनले भने, ‘अर्गानिक तरकारी भएका कारण हाम्रो उत्पादनको माग जहाँतहीँ छ।’

जेठ २९, २०८१ मंगलबार ०८:३०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।