बंगलादेशलाई चार रनले हराउँदै दक्षिण अफ्रिका समूह ‘डी’को शीर्ष स्थानमा
काठमाडौं : बंगलादेशमाथि चार रनको रोमाञ्चक जित निकाल्दै दक्षिण अफ्रिका आईसीसी टी ट्वान्टी-२० विश्वकपमा समूह डीको शीर्ष स्थानमा पुगेको छ।
अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी मैदानमा सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले हराउँदै लगातार तेस्रो जित निकालेको हो।
दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ९ मात्र बनाएको थियो।
बंगलादेशका लागि तोहीद हृदोयले ३७, मोहम्मदुल्लाह रियादले अविजित २० रन बनाए। कप्तान नजमुल होसेन सान्तोले १४ रन बनाए।
यस्तै, तान्जिद हसन र लिटन दासले समान ९-९ रन जोडे। बंगलादेशलाई रोक्न केशव महाराजले सर्वाधिक ३, काशिगो रवाडाले र एनरिच नोत्जेले समान २/२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय १३ रनको योगफल बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले दुई चौका र तीन छक्का प्रहार गरी सर्वाधिक ४६ रनको महत्वपूर्ण पारी खेले। यस्तै, डेभिड मिलरले पनि २९ रन बनाए। यस्तै, क्विन्टन डी ककले १८ रन बनाए।
बंगलादेशका तान्जिन हसन साकिबले सर्वाधिक तीन विकेट लिँदा ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट आफ्नो नाम गराए।
दक्षिण अफ्रिका तीन खेलबाट ६ अंकका साथ समूह ‘डी’मा शीर्ष स्थानमा यथावत् छ। तालिकाको दोस्रो स्थानमा रहेको बंगलादेशको २ अंक छ।
जेठ २९, २०८१ मंगलबार ०७:२७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।