जेपीसहित सात सामुदायिक स्कुलको १७५ सटरमा महानगरको ताल्चा

जेपीसहित सात सामुदायिक स्कुलको १७५ सटरमा महानगरको ताल्चा

काठमाडौँ : विद्यालयका लागि आवश्यक खुल्ला स्थान नराखी भवन बनाएर सटर निकाली भाडामा लगाएको काठमाडौँका सात सामुदायिक विद्यालयका १ सय ७५ वटा सटरमा ताला लागेको छ।

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागको सक्रियतामा सोमबार जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कुल) सहितका सात विद्यालयका सटरमा ताला लगाएको हो।

जेपीको मात्र ४६ वटा सटरमा ताला लागेको छ। अनधिकृत रूपमा विद्यालय प्रशासनले एक व्यापारीलाई जेपीको जग्गा सस्तोमा भाडामा दिएका थिए।

महानगरको टोलीले रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय, न्होखाका ३६ वटा, मङ्गलादेवी माध्यमिक विद्यालय, गुह्येश्वरी १२ वटा, जनकल्याण माध्यमिक विद्यालय, बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय, चाबहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए।

शीतला माध्यमिक विद्यालय, वोहराटार, शिवपुरी माध्यमिक विद्यालय, महाराजगन्ज, नव जागृति माध्यमिक विद्यालय, वोहोराटार, रुद्रमती आधारभूत विद्यालय, देवीनगर, विद्योदय आधारभूत विद्यालय, झोँछे र आधारभूत विद्यालय, लगनले भाडामा लगाएका सटर बन्द गरिएका छन्।

विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा आएका सटर तथा टहराहरूमा ताला लगाएको हो। 

हिजो आइतबार ४ वटा विद्यालयका ६१ वटा सटरमा ताला लगाएको थियो । यसरी ताला लगाइएका सटरहरूमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा, बागबजारमा रहेको सहिद शुक्र माविका २२ वटा, विजय स्मारक मावि डिल्लीबजारका ८ वटा र पद्मकन्या मा. वि. डिल्लीबजारका १४ वटा सटर छन्।

शिक्षा अधिकृत नेत्रनारायण पौडेलले  शिक्षा ऐन २०२८ को दफा १६, शिक्षा नियमावलीको  नियम १५८ र १५९ अनुसार उद्देश्य पूरा नभएको देखिएकोले ताला लगाउनु परेको बताए।

सो व्यवस्था अनुसार विद्यालयको सम्पत्ति विद्यार्थीहरूको शैक्षिक र व्यक्तित्व उन्नतिका लागि उपयोग गर्न पाइन्छ। ताला लगाइएका सटरहरूको चाबी विद्यालयका प्रधानाध्यापकलाई बुझाइएको छ।

व्यवसाय सञ्चालन गर्न नदिने तर व्यवसायीका सामान सारेर लैजाने सर्तमा प्रधानाध्यापकहरूलाई ताला दिइएको हो।महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको अनुगमनपछिको प्रतिवेदनमा देखिएको जनाएको छ।

जेठ २९, २०८१ मंगलबार ००:०४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।