वेब सिरिज ‘साहु बा’मा ३५० बढी कलाकार

वेब सिरिज ‘साहु बा’मा ३५० बढी कलाकार

काठमाडौं : प्रेम, विश्वासघात र प्रतिशोधको कथा समेटिएको वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक भएको छ। ३ सय ५० जनाभन्दा बढी कलाकारको अभिनय रहेको यो सिरिजको टिजर सोमबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

सुजय योङ निर्देशित सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय छ। प्रियंकाका अनुसार उनले यो सिरिजका लागि तीन वर्षभन्दा बढी समय दिएकी थिइन्।

एपी वान टेलिभिजन र म्युजिक नेपालद्वारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोमो म्युजिक एण्ड मूभिज’ एपमा सिरिज रिलिज हुनेछ।

फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिज २४ भागको छ। हरेक भाग एक घण्टाको रहेको सिरिजमा आयुष्मान देशराज जोशी, संगम राई र अनिस तामाङको छायांकन छ।

सिरिजमा सुजयकै कथा, पटकथा तथा संवाद छ। 

एक्सन र क्राइम जनरामा निर्मित सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, सिर्जना पौडेलको मेकअप र रामप्रसाद चौधरी र चन्दन दत्तको सम्पादन रहेको छ।

२८ जेठ, २०८१, २०:०२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।