ग्लोबल आईएमई बैंकको 'डिजिटल यूनिभर्स' सञ्चालनमा
काठमाडौँ : ग्लोबल आईएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज 'डिजिटल यूनिभर्स' सञ्चालनमा ल्याएको छ।
आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेसिन, नगद जम्मा गर्ने मेसिन र एटीएम मेसिन जस्ता अत्याधुनिक मेसिनहरू रहेको डिजिटल यूनिभर्सको उद्घाटन गरे।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, 'डिजिटल यूनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरूलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ। यो पहल ग्लोबल आईएमई बैंकको आफ्ना ग्राहकहरूलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरूको एक हिस्सा हो। हामीले आज लन्च गरेको डिजिटल यूनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ।
ग्लोबल आईएमई बैंकको डिजिटल यूनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।
कार्यक्रममा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकारीलगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
जेठ २८, २०८१ सोमबार १९:५७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।