नेपाली नागरिकता नलिएका मोतिहारीका इमरान भन्छन्, ‘मलाई नेपाल र काठमाडौंले जे जति दियो धेरै खुस छु’

नेपाली नागरिकता नलिएका मोतिहारीका इमरान भन्छन्, ‘मलाई नेपाल र काठमाडौंले जे जति दियो धेरै खुस छु’

भारतको मोतिहारीको दुर्गम गाउँमा पहिलो पटक जब मोटर गाडी गुड्यो, सबैले खुब रमाइलो मानेर हेरे। बालक इमरान अहम्मदमा भने गाडीले छोडेर गएको धुँवाको अलग्गै नसा बस्यो।

गाडी हुइँकिने बित्तिकै उनी टायरले छाडेको डाममा त्यसलाई नजिकै गएर सुँघ्न पुगे। त्यसबेला उनको दिमागमा एउटै मात्र कुरा खेल्यो, ‘ठूलो भएपछि म यस्तै गाडी बनाउने ठाउँमा काम गर्छु।’

त्यसबेला उनी कति वर्षका थिए आफैंलाई थाहा छैन। तर, अहिले सोच्दा आफूले बाल्यकालमा देखेको सपना पूरा भयो भनेर गजक्क पर्छन्। कारण, उनी काठमाडौंमा लामो समयदेखि आफ्नै ग्यारेज चलाएर हजारौं गाडी मर्मत गरिरहेका छन्।

‘मलाई त्यो धुँवाको खुस्बु (गन्ध) नजिकै गएर सुघौँ-सुघौँ लाग्यो अनि कुदेर भुइँमै नाक टाँसेर सुँघे,’ उनले हाँस्दै भने, ‘मलाई त्यो खुस्बु यति मन पर्यो कि! त्यही बेला सोचेँ म पनि यही बनाउने ठाउँमा काम गर्छु। म पनि यस्तो गाडी बनाउने काम गर्छु। त्यसबेला म धेरै सानो थिएँ। उमेर याद थिएन तर सपना यही थियो। जुन अहिले म खुसी साथ बाँचिरहेको छु।’

उनी छ भाइमध्ये कान्छो। उनको सबै दाइहरू काठमाडौंमा काम गर्थे। केहीले सिलाई काम गरे, केहीले भने आफ्नै व्यापार रोजे। उनी पनि दाइहरूसँगै यहाँ आए। उमेर कम भएकाले इमरानलाई घन्टाघरस्थित जामे मस्जिदमा रहेको स्कुलमा भर्ना गरिदिए।

मोतिहारीमा पढाइप्रति मन नलगाएका इमरानले यहाँ उनको गाउँमा भन्दा बढी र भिन्न गाडीहरू देखे। त्यसकारण उनको पढाइभन्दा बढी गाडीमा ध्यान जान थाल्यो। उनको मनमा गाडी कसरी गुड्छ र त्यसभित्र के छ भन्ने उत्सुकता जागिरह्यो। 

त्यहिबीचमा दरबार हत्याकाण्ड भयो। त्यसपछि त उनलाई पढाइ छोड्ने बहाना भइहाल्यो। उनले पढाइ छोडेर दाइहरूसँगै काम गर्न थाले।

उनको काकाले इमरानले दाइहरूजस्तै कपडा सिलाउने काम नगरेर अलि फरक फरक काम गरोस् भन्ने चाहन्थे। तर, बुवा भने प्राविधिक काम गाह्रो हुने भएकाले कपडा सिलाउने काम नै गरोस् भन्ने चाहन्थे। त्यहिबीचमा उनले गाडी बनाउने काम गर्ने बताए।

'त्यसबेला काठमाडौंमा ग्यारेज कम थियो। अनि ग्यारेज लाइनमा पैसा पनि धेरै कमाइ हुँदैनथ्यो। त्यै भएर अब्बाले त यो काम नगर भन्नुभएको थियो’, उनले भने।

पढाइ छोडेर गाडी बनाउने काममा

पढाइ छोडेको एक हप्तामै उनले ओमबहालको एउटा ग्यारेजमा काम गर्न थाले। तलब नै भनेर त्यस्तो पारिश्रमिक उनले पाउदैनथेँ। खाजा स्वरूप बीस रूपैयाँमै उनी चित्त बुझाउँथे। उनलाई तलबसँग भन्दा पनि बढी कामसँग मतलब थियो।

शनिबार ५० रुपैयाँ पाउँदा त दङ्ग परेका थिए रे। १२/१३ वर्षका उनी गाडीलाई नजिकबाट हेर्नु र ५० रुपैयाँ पाउनुलाई नै ठूलो उपलब्धि मान्थे।

‘काकाले त्यसबेला नै यसले यो काम सिक्यो भने भोलि पैसा कमाउँछ। चार/पाँच लाख पर्ने बाइक यसले बनाउँदै बोकेर हिँड्छ भन्नुभएको थियो,’ उनले सुनाउँदै गए, ‘त्यसपछि मलाई झन् यो त गर्नैपर्छ भन्ने लाग्यो।’

उनले ओमबहालमा धेरैजसो काम बुझेर गर्न मै ध्यान दिए। ६/७ वर्षमा उनले गाडीको लगभग सबै पार्टपुर्जा जोड्न र खोल्न जाने। दुई/तीनवटा ग्यारेजमा काम गरेको अनुभवपछि उनले आफ्नै ग्यारेज खोले। १५ वर्षदेखि उनले आफ्नै ग्यारेज चलाएर बसेका छन्। सानै भए पनि आफ्नै काम गर्न पाउँदा उनको मुहारमा अलग्गै चमक देखिन्छ।

‘अहिले त धेरै ग्यारेजहरू खुलिसकेका छन्। यहाँ त केही जोड्न सकेन तर गाउँमा मैले कमाएको अलि-अलि खर्च गरेँ। एउटा बहिनीको हामी दाजुभाइ मिलेर राम्रोसँग बिहे गरायौँ। गाउँमा त घर पनि मर्मत गर्यौं,’ उनले निकै खुसी हुँदै भने।

लामो समयदेखि यहाँ बसेका उनले काठमाडौंलाई आत्मसाथ गरिसकेका छन्। त्यै भएर उनलाई गाउँमा भन्दा यहाँ निकै रमाइलो पनि लाग्छ रे। नेपाल प्रहरीको मोटरसाइकलहरू पनि बनाउने भएर यहाँ राम्रो ‘दोस्तीयारी’ भएको उनले सुनाए।

अहिले उनले ग्यारेजमा दुई पाङ्ग्रे सवारी मात्र मर्मत गर्छन्। यसबीचमा उनले कुनै किसिमको गाह्रो अप्ठ्यारो महसुस गरेनन्। तर ‘पढ्न चाहिँ पर्ने रहेछ’ भन्ने अहिले लागिरहेको छ उनलाई।

‘नेपाली र अंग्रेजी पढ्न जान्दिनँ। हामी त्यो बेला पढेन। अहिले बिल बनाउने बेला अफसोस लाग्छ,’ उनी भन्छन्, ‘अहिले त गाडी बनाउनेहरू पनि पढेर आउने रहेछ। गाडी बनाउनेलाई इन्जिनियर भन्ने रहेछ। त्यो बेला अलि पढेको भए मलाई सहज हुन्थ्यो भन्ने महसुस हुन्छ।’

…अनि आफ्नै ग्यारेजको मालिक

उनले अरूको ग्यारेजमा काम गर्दागर्दै आफ्नै ग्यारेज खोल्ने बिचार गरे। जतिबेला उनको खल्तीमा चार/पाँच हजारबाहेक पैसा थिएन। त्यै पनि उनले ४५ सय खर्च गरेर जस्ताको टहरामा ग्यारेज बनाए। त्यसबेला त सटर भाडा पनि त्यति महँगो थिएन। 

'सुरूसुरूमा यसले कस्तो बनाउँछ होला भनेर शंका गर्नेहरू नै मेरो नियमित ग्राहक बने। मैले जति खर्च गरे त्यति उठाउन धेरै समय लागेन,’ उनी भन्छन्, ’पछि भाइजान भन्दै सबले भरोसा गरेर मेरै ग्यारेजमा बाइक छोडेर जान थाले। अनि मैले एकैपटक ४५ हजारको लगानी गरें। अहिले पुलिस हेडक्वाटर, बग्गीखानाको बाइक पनि बनाउँछु। म बाइक बनाउन ग्राहकले बोलाउनु भएको ठाउँमा पनि जान्छु। त्यै भएर त मैले लगानी गरेको भन्दा चौबर सामान अहिले जोड्न पाएँ।’ 

अहिले उनले आफ्नो ज्याला लिँदैनन्। बाइक बनाउनको लागि प्रयोग हुने सामानको मात्र पैसा लिने गर्छन्। 

'बोल्ने र गफ गर्ने पनि गर्नुपर्ने रहेछ। त्यै भएर त सबैसँग मेरो दोस्तियारी भयो। सबैले माया गर्छन्। एउटा मोहब्बत त रहेछ नि,’ मुस्कुराउँदै उनले भने,’ त्यै भएर पनि त मलाई यो ठाउँ छोडेर कतै जान मन लाग्दैन। जति ऋण भए पनि यतै बस्छु। मलाई ऋणले भन्दा दिनले डर लाग्छ। बाँकी सबै उपरवालाले म्यानेज गर्छ।’ 

उनले अहिलेसम्म आफ्नो ग्यारेजमा मर्मतको लागि आएको बाइक र स्कुटर फिर्ता पठाएका छैनन् रे। ग्यारेजमा सामान नभए उनले अन्य ठाउँबाट मगाएर भए पनि बनाएर पठाउने रहेछन्। उनले कहिल्यै पनि आत्तिएर काम गरेनन्।

अनि उस्तो धेरै कामको अभाव पनि भएन। धेरैले गाडी पनि मर्मत गर्न उनलाई सुझाएका रहेछन्। तर उनले दुई पाङ्ग्रे बाहेक अर्को सवारीको बारेमा काम गर्ने आवश्यक नै सम्झेनन्। 

'हातमा यही एउटा इलम छ। मेरो अम्मिले इलम भए कहिले पनि भोकै बस्न पर्दैन भनेको छ। यो काम गरेदेखि भोकै बस्न परेको छैन। यो भन्दा धेरै खोज्यो भने फेरि उपरवालाले सब हेरिहाल्छ नि। उपरवालाबाट जति दिन्छ त्यसमै खुस हुन पर्छ,’ उनले भने। 

आफ्नो ग्यारेजमा अहिले महाराजगन्ज, भक्तपुर, कीर्तिपुर र चोभारदेखिका ग्राहक आउने गरेको बताए। तर केही समयदेखि भने उनको व्यापार सुस्त भइरहेको छ। युवापुस्तामा दुइ पाङ्ग्रे सवारीको क्रेज बढेसँगै सबैले आफ्नो पुरानो सवारी बनाउने भन्दा नयाँ किन्न खोजेकाले आफ्नो व्यापारमा प्रभाव परेको उनले अनुभव गरेका रहेछन्।

त्यसमाथि विभिन्न कम्पनीले आफ्नो ग्राहकलाई सवारी किनेपछि सर्भिस सुविधा पनि निःशुल्क गरिदिएपछि स्वतः ग्राहक घटेको उनको निष्कर्ष छ। 

‘अब दो वर्ष भन्दा बढी एउटै बाइक चलाउन मन गर्दैन रहेछ। नयाँ किनेपछि धेरै बनाउने नै हुँदैन। नयाँ नयाँ मोडलको बाइक आएपछि त बनाउने तरिका पनि डिजिटल हुने भएछ,’ मलिन अनुहार बनाउँदै उनले भने, 'त्यै पनि सकेसम्म आइसकेको ग्राहकलाई म फर्काउँदिन। नयाँ नयाँ मोडलको आउँदा गाह्रो त हुन्छ नै। तर त्यही मौकामा म त्यो बनाउन पनि सिकिहाल्छु।’

‘म खुस छु’

अहिले उनी आफ्नो परिवारसँगै बसिरहेका छन्। आफ्नो चार सन्तानलाई जामे मस्जिदकै मदरसामा पढाइरहेका छन्। कामसँगै आफ्नो परिवारलाई पनि उनी उत्तिकै समय दिन्छन्। नमाज पढ्न पाँच मिनेट जसरी पनि निकाल्छन्। गाउँमा भएको आमाबालाई खर्च पठाइराख्छन्। इदमा र मर्दापर्दा गाउँमा पुगेकै हुन्छन्। 

धेरैले उनलाई नागरिकता लिएर काठमाडौंमै बस्न पनि सुझाव दिएका रहेछन्। तर इमरानले नेपाललाई आफ्नो कर्मभूमि बाहेक केही सम्झेका छैनन्। त्यै भएर सुरु देखिनै उनले नेपाली नागरिकता लिएर बस्ने नै सोचेनन्। 

'मलाई नेपाल र काठमाडौंले जे जति दियो धेरै खुस छु। मेरो कहिल्यै पनि नागरिकता लिने ख्वाहिस (इच्छा)नै भएन। म परदेशमा काम गर्न आएको छु। अम्मिअब्बा बकाइदा इन्डियन हो, म आफू नेपाली भएर बस्नुपर्छ  भन्ने जरुरी नै लागेन,’ उनी भन्छन्,’ अहिलेसम्म त्यस्तो गाह्रो पनि भएको छैन। मेरो बच्चाहरूलाई पढाउन सकेपछि अन्तिममा त आफ्नै गाउँ फर्किनु छ। मुख्य कुरा भनेको यहाँ आएर मेरो सानो देखिको सपना पुरा भयो नि।’

उनी अहिले भर्खर ३८ वर्षको पुग्दै छन्। अझै त उनले यहाँ बसेर यही कामलाई निरन्तरता दिन चाहेका छन्। यसबीचमा अन्य देश जाउँ कि भन्ने पनि उनको मनमा लागेको रहेछ। तर यहाँको साथीहरूले 'यत्तिको इलम, सीप भएको व्यक्तिलाई किन जानु पर्यो विदेश?' भनिदिए छन्। त्यसपछि उनले पनि दायाँबायाँ मन नडुलाइ आफूले देखेको सपनामा बाँचिरहने सोचे। 

'मान्छेलाई सपना पुरा गर्न कति गाह्रो छ नि। मैले त मेरो सपनालाई जिइरहन दिएको छु,’ खुसी हुँदै उनी भन्छन्, 'अझै त २०/३० वर्ष म आरामले काम गर्न सक्छु। बुढो भएपछि काम गर्न मन नलागे पनि अहिले त म रमाइरहेको छु नि। छोरीहरूको बिहे गर्न सक्यो भने माशअल्लाह हेर्दै जाम, मेरो ग्यारेज ठुलो बनाउन नसके पनि निरन्तर त काम गरिरहन्छु।’

२८ जेठ, २०८१, २२:२१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।