सेन्चुरी बैंकको अध्यक्ष राजेशसहित ८ जना पक्राउ, कमसल धितो राखेर ठगी गरेको आरोप

सेन्चुरी बैंकको अध्यक्ष राजेशसहित ८ जना पक्राउ, कमसल धितो राखेर ठगी गरेको आरोप

काठमाडौँ : कमसल धितो राखेर बैंकलाई ठगी गरेको मुद्दामा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्कालीन सेन्चुरी बैङ्कका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको छ।

कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा ब्युरोले २०८० फागुन १५ मा सेन्चुरीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारीलाई पक्राउ गरेको थियो। सेन्चुरी बैंक प्रभुमा गाभिइसकेको छ।

प्रहरीको अनुसन्धानमा उनीहरूले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको खुलेपछि ब्युरोले अनुसन्धान सुरु गरेको थियो।  

अनुसन्धानमा ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको ब्युरोको दाबी छ। उनीहरू १ चैतमा हाजिर जमानीमा छुटेका थिए। हाल सेन्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ।

ब्युरोले सेन्चुरी बैङ्कका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो।

जेठ २८, २०८१ सोमबार १५:१२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।