क्रिकेटको विकासमा सिजी फुड्स्को विशेष प्याकेज, क्यानलाई ६० लाख सहयोग

क्रिकेटको विकासमा सिजी फुड्स्को विशेष प्याकेज, क्यानलाई  ६० लाख सहयोग

काठमाडौँ : सिजी फुड्सले यु–१९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) लाई  ६० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ।

लामो समयदेखि पुरुष यु–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले सोमबार पत्रकार सम्मेलनमार्फत  महिला क्रिकेट टिमलाई प्रायोजन बापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख रुपैयाँ गरी जम्मा ६० लाख रुपैयाँ क्यानलाई सहयोग गर्ने घोषणा गरेको हो।

चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरी, सिजी फुड्सका सिइओ प्रदीप पुडासैनी, र क्यानका सचिव पारस खड्काबिच यससम्बन्धी सम्झौता भएको छ।

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरूप सुपर–८ मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रनवापत १ हजार र प्रत्येक चौका बापत ८ हजार रूपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ।

यस्तै सीजीले प्रत्येक छक्का बापत १२ हजार, प्रत्येक विकेट बापत १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार र प्रत्येक शतक बापत १ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

यसैगरी सिजी फुड्स नेपाल लिमिटेडले ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ।

जेठ २८, २०८१ सोमबार १४:५३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।